पत्रकार महासंघ आन्दोलित : प्रहरीको कार्यक्रम बहिष्कारदेखि प्रदर्शनसम्म

राजविराज, ४ पौष । पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानूनी दायरामा ल्याउन प्रहरीले तदारुकता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलन थालेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै पहिलो चरणमा आजदेखि पुस १२ गतेसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिअनुसार पुस ५ गते पीडित पत्रकारलाई न्याय र पीडकलाई कारबाहीको मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउने र सोही दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने संघर्षका कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, पुस ६ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीका प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा दोषीलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गर्ने र पुस १२ गतेसम्म पनि मागप्रति स्थानीय प्रहरी–प्रशासन गम्भिर नभए दोस्रो चरणको आन्दोलनमा जाने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सप्तरी शाखाका सदस्य अवधेशकुमार झाले कान्तिपुर दैनिक पत्रिकामा राजविराज नगरपालिका कार्यालयको समाचार लेखेका थिए । सोही समाचारलाई लिएर गत मंसिर १९ गते नसरुल राजा र मो. सजाद नामक फेसबुक आईडीवाट ज्यानमार्ने धम्की दिएका थिए ।

धम्कीपछि महासंघ शाखा सप्तरीले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले कानूनी प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएका छन् । पछिल्लो पटक पुस १ गते महासंघले ४८ घण्टे अल्मिटेम दिँदै संघर्ष थालेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस