नागरिकता प्रकरण : बयानमै बित्यो सात दिन

राजविराज, १५ पौष । भारतीयमूलका युवकलाई नेपाली नागरिकता बनाउन सिफारिस र स्थलगत वस्तुस्थिति (सर्जमिन) लिएर ईलाका प्रशासन कार्यालय बोदे बरसाईन पुग्नुभएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीकी फुलियादेवी मुखिया पक्राउ परे ।

गत शुक्रबार उनीसँगै भारत विहार राज्यको मधुबनी जिल्लास्थित फुलपरास निवासी लोचन मुखियाका २० वर्षीय छोरा धीरजकुमार मुखियालाई पनि पक्राउ गरियो । नातामा भान्जा पर्ने धीरजलाई छोरा बनाएर नागरिकता बनाउन लागेको अवस्थामा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्न गत सोमबार जिल्ला अदालतले नागरिकता सम्बन्धि कसुरमा सातदिने म्याद थप गरेको छ । तर, सात दिन वितिसक्दा समेत प्रहरीले अनुसन्धान कार्यलाई तीव्रता दिन सकेको छैन् ।

जनप्रतिनिधि र प्रहरीले नै आर्थिक प्रलोभनमा परेर सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराएकाले अनुसन्धानमा अनाकानी हुँदै आएको नाम नछाप्ने सर्तमा एक स्थानीयले बताए । ‘डेढ लाख रुपैयाँमा डिल भएको रैंछ, त्यसमा जनप्रतिनिधि र प्रहरी चौकी पातोले बाँडफाँड गरेका छन्’ उनले भने, ‘अहिले ७ दिन भइसक्दा सर्जमिन मुचुल्कामा साक्षी बस्नेहरुसँग समान्य सोधपुछसम्म गरेको रैंन्छ, अब योजनाअनुसार उनीहरु फरार हुन्छन् र खोजी भइरहेको छ भनेर प्रहरीले वयानवाजी गर्नेछन् ।’

श्रोतकाअनुसार स्थानीय देवन राय, रामस्वरुप विश्वकर्मा, मंगल मुखिया, कपलेश्वर ठाकुर र रंजित मुखिया सर्जमिन मुचुल्काका साक्षी हुन् । वडा अध्यक्ष भागेश्वर यादवको रोहबरमै सो सर्जमिन उठाइएको छ । यद्यपी, सर्जमिन मुचुल्काका साक्षीहरुसँग कुनै प्रकारको चिनजान नरहेको वडाध्यक्ष यादवले भनाई छ । ‘साक्षीमा उहाँहरुको नाम छ भने होला तर म कसैलाई चिन्दिनँ’ उनले भने, ‘मान्छे चिन्नुभन्दा पनि मैले जन्मदर्तालाई आधार बनाएर सिफारिस दिएको हुँ, पैसाको लेनदेन गलत हो ।’

उनकाअनुसार केही वर्षदेखि मामा घरमै बसोबास गर्दै आएका धीरजले वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता सम्बन्धि टोली खटेको बेला २०७७ चैत १३ गते जन्मदर्ता बनाएका थिए । २०५९ भदौ २१ गते जन्ममिति राखेर जन्मदर्ता लिनुभएको धीरजलाई सोहीआधारमा नागरिकता सिफारिस दिएको उनको कथन छ ।

प्रहरी चौकी पातोका सई सुनिल यादवले कामको चापका कारण वडा कार्यालयको सिफारिसलाई नै आधार बनाई सर्जमिन दिएको बताए । ‘वडा कार्यालयको कागजात पूर्ण नै थियो, कार्यालयमा भिडभाड पनि त्यति नै रहेकाले समान्य छानविन गरी सर्जमिन गरी पठायौं’ उनले भने, ‘प्रलोभनको कुनै कुरा छैन् ।’

उता, ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिश्टर सिंहले नियन्त्रणमा लिइएका दुवै जनासँग वयानसँगै अनुसन्धान अघि बढेको बताए । ‘अनुसन्धान हुँदैछ, सर्जमिनमा साक्षी बसेका र अन्यमाथि पनि अनुसन्धान नहुने होइन् ।’, उनले भने । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस