मनपरी औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड

राजविराज, २० पौष । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि खरिद गरेको छ । तर, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क)को समेत ख्याल गरेको छैन् ।

सो नियमावलीअनुसार २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसमान उत्पादकले राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरी तोकेको विक्री मूल्यमा खरिद गर्नुपर्ने व्यवस्था छ भने खरिद भएका औषधिहरु कुन कम्पनीबाट उत्पादित हो भन्ने पनि राष्ट्रियस्तरको पत्र–पत्रिकामा प्रकाशन गर्नुपर्ने हुन्छ ।

औषधि आपूर्ति गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट सर्टिफाइड हुनुपर्ने, औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाएपछि सो औषधिहरु बिक्रीको लागि नरहेको खुल्ने गरी वितरण गर्न दिनुपर्नेमा हो ।

तर, जनप्रतिनिधि र केही कर्मचारी मिलेर कमिशनको लोभमा पर्दा मनपरी ढंगले औषधि खरिद गरेकाले जनस्वास्थ्यमाथि खेलबाड भएको कर्मचारी श्रोतकै दावी छ ।

‘औषधि जस्तो संवेदनशिल वस्तु खरिद गर्दा पनि प्रक्रिया पूरा नगर्नुले के जनाउँछ?, सबै कमिशनको खेल हो’ कर्मचारी श्रोतले भन्यो, ‘हुन त ३६ प्रकारका औषधि खरिद गरिएको भन्छन् तर ती दबाई कुन कम्पनीबाट खरिद गरियो र कुन–कुन कम्पनीको दबाई हो ? ती दबाईहरु तोकिएकै गुणस्तरअनुसारको हो भन्ने यकिन गर्नसक्ने आधार के हो ?’

खरिद प्रक्रियादेखि औषधिको गुणस्तरबारे सम्बन्धित पक्षले छानबीन गर्नुपर्ने श्रोतको माग छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनेश्वर प्रसाद चौधरीले औषधि खरिद प्रक्रियाबारे आफुलाई कुनै जानकारी नरहेको बताए । उनले औषधि खरिद गरिएको मिति पनि खुलाउन चाहेन । ‘औषधि त मंसिरमै खरिद भएको छ तर त्यसको ठ्याकै मिति मलाई जानकारी छैन्, अरु उत्तै सोध्नुस् न’, उनले भने ।

उता, गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले प्रक्रियाअनुसार नै औषधि खरिद गरिएको दावी गरे । यद्यपी, उनले कुन मितिमा राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरिएको बारे स्पष्ट गरेन । ‘हाकिम सा’बलाई नै जानकारी होला’ उनले भने, ‘उहाँलाई नै एक पटक फोन गर्नु न ।’ सोबारे बुझ्न प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवलाई फोन गर्दा उठाएन ।

Author:



क्याटोगरी छान्‍नुहोस