पत्रकारलाई आक्रमणको धम्की दिने मेयरलाई कार्बाही गर्न माग

राजविराज – जनप्रतिनिधिले नै पत्रकारलाई भौतिक कारवाही गर्ने दिएको धम्की घटना प्रति आमसञ्चार प्राधिकरण, मधेश प्रदेशको ध्यानाकर्षण भएको छ ।

आमसञ्चार प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गर्दै अनलाइनखबरमा कार्यरत धनुषाका शैलेन्द्र महतो (शैलेन्द्र क्रान्ति)लाई समाचारको विषयलाई लिएर विदेह नगरपालिकाका मेयर बेचन दासले भौतिक कारवाही गर्ने धम्की दिएको जनाएको छ ।

‘विगत केही महिनायता मधेश प्रदेशका जिल्लाहरुमा कार्यरत पत्रकारहरुमाथि धम्की एवम् दव्र्यवहारका घटनाहरु बढिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मधेश प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको शपथ–ग्रहण समारोहको समाचार सङ्कलनमा खटिएका पत्रकार महतोलाई मेयर दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’ मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर आक्रमणको धम्की दिनुले प्रेस स्वतन्त्रता र कानूनी राज्यको धज्जी उडाएको हाम्रो ठहर छ ।’

प्रेस स्वतन्त्रताको रक्षा एवम् सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय कार्य रहेको विज्ञप्तिमा उल्लेख छ । मेयर दासले अघि पनि अन्य सञ्चारकर्मीहरुमाथि हातपात एवम् दुव्र्यवहार गरेको जानकारी प्राप्त भएकोले यस्ता घटना दोहोरिन नदिन अविलम्ब कानूनी दायरामा ल्याई कडा कार्वाही गर्न विज्ञप्तिमा माग गरिएको छ ।

अध्यक्ष यादवले मधेश प्रदेशका पत्रकारहरुलाई शान्तिपूर्ण एवम् भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकार महतोको सुरक्षाप्रति गम्भीर बन्न सुरक्षा संयन्त्रसँग आग्रह समेत गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस