राजविराज – सप्तरीमा पानी परीक्षण घुम्ती सेवा शुरुवात भएको छ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको पहलमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर २ लौनियाँबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको पानी परीक्षण प्रयोगशाला जनकपुरको टोलीद्वारा सो सेवा शुरुवात भएको हो ।
शुक्रबार दलान दलिल अभियान अन्तर्गत क्षेत्र नम्वर २ बाट निर्वाचित डा. राउत र प्रदेश सभा सदस्य सतिश कुमार सिंहले निर्धारित कार्यक्रम अनुसार विभिन्न गाउँहरुमा स्थानीयहरुसँग भेटघाट गर्दै सर्वदलीय, सर्वपक्षीय छलफल गरि विभिन्न योजनाहरु माग समेत गरे ।
मधेपुरा, कट्टी, बनरझुला, टिकुलिया, बरसाईन, कुसहा, सकरपुरा, बेल्ही, लौनियाँलगायतको गाउँको स्तरोन्नतीका लागि समस्या तथा योजनाहरु संकलन गरेको जनमत पार्टी तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सुशील कुमार मण्डलले बताए । घुम्ती सेवा विभिन्न स्थानमा रहेका ट्युवेल र धाराको पानी पिउन योग्य भए नभएको सबैलाई जाँच गराउन डा. राउतले आग्रह गरे ।
लौनियाँको विभिन्न १० वटा ट्युवेलबाट पानी संकलन गरि जनकपुरस्थित कार्यालयमा ल्याब जाँच गरिने केमिस्ट सुनिल चौधरीले बताए । उनले स्वास्थ्य चौकि लौनियाँको कार्यालय नजिकै रहेको ट्युवेलबाट लिइएको पानी जाँच गर्दा ०.००६ एमजी÷ली मात्र आर्सेनिक भेटीएको जानकारी दिँदै पानी खाने योग्य रहेको बताए ।
सो वडाका वडाध्यक्ष कमलकुमार मण्डलले सो वडाबाट पानीको परीक्षण कार्य सुरु गरेकोप्रति डा. राउतसहितका धन्यवाद दिँदै जिल्लाभरिकै खानेपानी परीक्षण गर्न आग्रह गरे ।