असई हत्या प्रकरण : प्रहरी जवान खत्रीलाई जन्मकैद

राजविराज, ९ फागुन । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या कसूरमा सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीलाई जन्मकैद सजाय भएको छ ।

हिजो (सोमबार) जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले जन्मकैद सजाय सुनाएको सप्तरी जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिए । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई सिरहाको भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय यादवको गत असोज १९ गते हत्या भएको थियो ।

हत्या कसूरमा सोही पोष्टमा कार्यरत प्रहरी जवान ओखलढुङ्गा जिल्ला खिजिदेम्वा गाउँपालिका–२ का ३९ वर्षीय खत्रीलाई जन्मकैद, ३ लाख रुपियाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गराउने फैसला भएको हो ।

यादवको हत्या भएपछि मृतककी पत्नी फुलसैरदेबी यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । मोहनपुरस्थित बोर्डर आउट पोष्टभित्रै हत्या गरी घटना लुकाउन आरोपित खत्रीले अन्य व्यक्तिको सहयोगमा भारत पुर्याएर शव फालेको मृतक परिवारका सदस्यको आरोप थियो ।

नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा यादवको श वगत असोज २० गते बिहान फेला परेको थियो । सो घटनामा खत्रीलाई गत असोज २६ गते पक्राउ गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस