मोरङ प्रशासनद्वारा विरोध प्रदर्शनलाई ध्यान दिँदै निषेधाज्ञा जारी

मोरङ –जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ प्रदेश सभाले प्रदेशको नामाकरण गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्दै प्रदेश सभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरेको जानकारी दिएका छन् ।

सूचनामा प्रदेश १ को प्रदेश सभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय संघसंस्था)बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकाले निषेधाज्ञा गरेको उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९–११–१७ गते दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यो आदेश उल्लङ्घन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस