सडक दुर्घटनापछि वर्ष दिनदेखि न्याय गुहार्दै साह परिवार

राजविराज, १९ फागुन । मोटरसाइकलले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएका सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका भरतकुमार साहको परिवार विच्चलीमा परेका छन् ।

ठक्कर दिने खडक नगरपालिका–११ बनौलीका मौजेलाल साहका छोरा २९ वर्षीय कमलनारायण साह फरार भएपछि न्याय गुहार गर्दै उनीहरुको दिनचर्या वित्ने गरेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शम्भुनाथ नगरपालिका–३ स्थित गत चैत्र ५ गते साँझ कमलनारायणले चलाएको नम्वर खुलेको मोटरसाइकलले सडक हिड्दै गरेका भरतलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका भरतलाई स्थानीयहरुले उद्धार गरी रुपनीस्थित यूनिक अस्पतालमा भर्ना गरेका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि भरतलाई विराटनगरस्थित नोबेल अस्पतालमा उपचार सुरु गराइएको थियो । आर्थिक अभावका कारण पछि उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहदा गत चैत्र ७ गते साँझ भरतको मृत्यु भएको उनका दाजु शम्भुकुमार साहले बताए ।

‘भाइको उपचारमा लाखौं खर्च गर्दा पनि बचाउन सकिएन, अर्कोतर्फ ठक्कर दिने कमलनारायण अझैं फरार नै छन्’ उनले भने, ‘न्याय पनि पाउन सकेको छैन्, न्याय नपाउँदा आफ्नो परिवार त्यो दुःखबाट माथि उठ्नै सकेकै छैन् ।’

उनका अनुसार घटनाको २ दिनपछि प्रहरीमा उजुरी गरेका थिए । सो आधारमा प्रहरीले छानबिन नगरेपछि गत कार्तिक २९ गते जाहिरी गर्दा समेत अझैंसम्म प्रहरीले न्याय दिलाउन सकेको छैन् । ‘न्यायको लागि पहल गरिदिन सबै आग्रह छ’, उनले भने । मृतक भरतकुमारकी पत्नी र २ र १ वर्षको गरी २ सन्तान छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले सवारी चालक भनिएका व्यक्तिलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताए । ‘दुर्घटना पछि त्यही मान्छेले उपचारको लागि एक लाख रुपैयाँ दिएको रैंछ’ उनले भने, ‘रह्यो क्षतिपूर्तिको सवालमा दुर्घटनाको बेला सवारी नम्वर चैं खुलेको थिएन, पछि त्यो मान्छे फरार भयो, हामी खोजी गरिरहेका छौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस