भोजमा बोलाएर जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्षले मागे माफी

जनकपुरधाम । जातीय छुवाछुतको आरोप लागेपछि सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले माफी मागेका छन् ।

राष्ट्रिय दलित आयोगले कारबाही गर्न सरकारलाई निर्देशन र दलित संघ संस्थाहरुले कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएपछि अध्यक्ष यादव आज पत्रकार सम्मेलन गरी माफी मागेका हुन् ।

उनले गाउँपालिकाको लेटरप्याडमा माफी मागेको विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्ति भनेका छन्, ‘कुनै वर्ग, धर्म सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको भए म त्यसप्रति हृदयदेखि क्षमायाचना गर्दै आत्मआलोचना गर्न चाहन्छु ।’

अध्यक्ष यादवले आमाको १३ औं पुण्यतिथिको अवसरमा भोजको आयोजना गर्दा प्लेकार्ड नै झुण्ड्याएर जातीय अनुसार अलग अलग ठाउँमा बस्ने व्यवस्था मिलाइएको थियो । सो सम्बन्धी फोटोहरु सार्वजनिक भएपछि अध्यक्ष यादवको व्यापक आलोचना भएको छ ।

उक्त भोजमा पूर्व कानूनमन्त्री तथा एमालेका संघीय साँसद लीलानाथ श्रेष्ठ, प्रदेश मन्त्री र साँसदहरु तथा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक समेत सहभागी थिए । कानून बनाउने र कानूनको कार्यान्वयण गर्नेहरु नै जातीय छुवाछुतको भोज खाए, तर कोही केहि बोलेनन् ।

भोजको आयोजक गाउँपालिका अध्यक्ष यादवले घुमाउरो पारामा गल्ती स्वीकारेका छन् । मधेशमा विवाह तथा मृत्यू संस्कारमा ठूला भोज भतेर हुने गरेको र त्यसको व्यवस्थापन गर्दा व्यवस्थापकीय कामको सिलसिलामा अञ्जानबस त्यस्तो हुन गएको उनको भनाई छ ।

‘गाउँपालिका अध्यक्षको रुपमा सम्पूर्ण पालिकावासीको अभिभावक म स्वयं पालिकाको हरेक जातजाती समुदाय र वर्गको हक अधिकारको पक्षमा निरन्तर लडिरहनुपर्ने, आवाज उठाइरहनुपर्ने र सोही अनुसार नीति निर्माण एवं सेवा प्रवाह गनुपर्ने जिम्मेवारीमा रहेको व्यक्तिबाट जानी बुझीकन यस प्रकारको विभेद कल्पनासम्म गर्न सकिदैन’, उनको विज्ञप्तीमा उल्लेख छ ।

नेपालको संविधान, प्रचलित ऐन कानून, मानवअधिकार एवं जातीय विभेद विरुद्धका अन्तराष्ट्रिय महासन्धी मूल्य मान्यताप्रति पूर्ण प्रतिवद्ध रहेको भन्दै जातीय विभेदको अन्त्यबाट मात्र समतामूलक, सम्मुनत एवं समृद्ध समाजको निर्माण भई समाजिक आर्थिक रुपान्तरण हुने यर्थातमा दृढ संकल्पित रहेको अध्यक्ष यादवले जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस