देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा कम शुल्कमै इन्जिनियरिङ्ग शिक्षा

राजविराज, १३ भदौ । कोशी प्रदेशको मोरङ्गमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयु) मा कम शुल्कमै इन्जिनियरिङ्ग शिक्षा प्रदान गर्दै आएको दावी गरेका छन् ।

सप्तरीको राजविराजमा बुधवार विश्वविद्यालयले आयोजना गरेको ‘स्नातक तहको विद्यार्थी अभियान ०८०–८१’ तहत अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका डीन प्रा.डा.प्रचण्ड मान प्रधानले सोबारे जानकारी दिएका हुन् । ‘कोशी प्रदेश सरकारले २०७६ असोज १६ गते स्थापना गरेको यो विश्विद्यालय देशकै पहिलो प्राविधिक विश्विद्यालय हो, र हामीले अन्य विश्वविद्यालयभन्दा अत्यन्तै कम शुल्कमा इन्जिनियरिङ्ग शिक्षा प्रदान गर्दै आएका छौं’ उनले भने, ‘०७८–०७९ देखि स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातह तहको बीई इन सिभिल इन्जिनियरिङ्ग र बीई इन इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गका कक्षा पठनपाठन सुचारु गरेका छौं ।’

उनका अनुसार आगामी शैक्षिक सत्रका लागि बीई इन सिभिल इन्जिनियरिङ्गमा ४८ र बीई इन इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा २४ सीटमा भर्नाका लागि आवेदन खुल्ला गरिएको छ भने भदौ ३१ गतेसम्म आवेदन दिनसक्नेछ ।

साथै, स्कुल अफ इन्जिनियरिङ्ग, स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज गरी तीन वटा स्कुल सञ्चालन रहेको उक्त विश्वविद्यालयमा सोही आर्थिक वर्षदेखि नै मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज तर्फको बी फर्माका कक्षाको पनि पठनपाठन सुचारु रहेको उनले बताए ।

उनका अनुसार विश्वविद्यालयलाई दक्षिण एसियाकै नमुना र उत्कृष्ट प्राविधिक शिक्षालय तथा अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गरिने १० वर्षे गुरुयोजनातहत स्नातक, स्नातकोत्तर र विद्यावारिधी (पिएचडी) गरी २६ वटा विषयमा कक्षा सञ्चालन गरिनेछ ।

‘सबै कार्यक्रमहरु सञ्चालन भएपछि हरेक वर्ष कुल २ हजार २ सय विद्यार्थी लाभान्वित हुनेछन्’ उनले भने, ‘पहिलो ५ वर्षमा आर्किटेक्चर इन्जिनियरिङ्ग, कम्प्युटर/सूचना प्रविधि इन्जिनियरिङ्गमा बीइ कार्यक्रमका साथै ब्याचलर इन मेडिकल ल्याबोरेटरी टेक्नोलोजी, ब्याचलर इन पब्लिक हेल्थ, बीएससी इन फार्मेसी, एमएससी इन स्ट्रक्चरल इन्जिनियरिङ्ग, एमएससी इन पावर सिस्टम इन्जिनियरिङ्ग, एमएससी इन इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफ्टी सहितका गरी ७ वटा स्नातक र ५ वटा स्नातकोत्तर विषयहरु सञ्चालन गरिनेछ ।’

त्यस्तै, दोस्रो पाँच वर्षे योजनामा ब्याचलर इन बायो मेडिकल इन्जिनियरिङ्ग, बीइ इन मेकानिकल वा अटो मोवाइल इन्जिनियरिङ्ग, बीएससी इन एग्रीकल्चर/फरेस्ट्री, बीएससी इन अप्टोमेट्री, ब्याचलर अफ होटल म्यानेजमेन्ट, एमविविएस गरी स्नातक तहमा ६ वटा कार्यक्रम सञ्चालन गरिनेछन् भने स्नातकोत्तर तहमा ट्रान्सपोर्टेशन वा टनेल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ्ग, फार्मेसी, पब्लिक हेल्थ, केमिकल टेक्नोलोजी गरी ५ वटा विषयमा कार्यक्रम सुरु गर्ने योजना रहेको डीन प्रधानले बताए ।

उनले बूढीगंगा गाउँपालिका–४ स्थित रहेको उक्त विश्वविद्यालयमा सिमान्तकृत समूदाय एवम् जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति पनि गर्दै आएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस