मालपोतमा पाइलैपिच्छे घुसखोरी, विभागलाई अख्तियारको पत्र

राजविराज, २२ मंसिर – भूमिसुधार तथा मालापोत कार्यालय राजविराजमा पाइलैपिच्छे घुस लिने गरेको भन्दै उजुरी परेपछि कर्मचारीमाथि छानबिन सुरु भएको छ ।

सचेत नागरिक (उजुरीमा उल्लेखित नाम)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । घुस नदिँदा समान्य कामका लागि ३–४ दिन झुलाउने गरेको, घुस दिँदा आजको आजै काम गर्ने गरेको, घुस नदिँदा विवरण समेत गलत पार्ने गरेको, एउटा फाँटमा घुस दिएर काम गराउदा पनि अर्को फाँटबालाले लालपूर्जा दिन अनाकानी गर्दै हप्ता दिन समय लगाउने गरेको उजुरीमा उल्लेख छ ।

उजुरीपछि आयोगले उल्लेखित विषयहरुमा १५ दिनभित्र छानविन गरी राय प्रतिक्रियासहितको प्रतिवेदन पेस गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गरेको छ ।

सोअनुसार विभागले गत आइतवार मालपोत कार्यालयमा पत्राचार गरेको छ भने गलत कामकारबाहीहरु हुन नदिन कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । ‘कहिकत्तै भए गरेको पाइएमा अविलम्ब कारबाही अगाडी बनाउनू’ पत्रमा उल्लेख छ ।

कार्यालय प्रमुख शिवशरण पण्डितले सो पत्रमा उल्लेखित विषयहरुमा आवश्यक प्रक्रिया अघि बढाएको बताए । ‘ती पत्रमा उल्लेखितअनुसार सम्बन्धित फाँटसँग पनि जवाफ मागेका छौं’, उनले भने ।

उता, आयोगले पनि ती विषयहरुमा छानविन भइरहेको आयोग श्रोतले बताए । ‘छानविनकै क्रममा हामी स्थलगत पनि पुग्छौं’, उनले भने ।

सुरक्षित घुसखोरीका लागि लेखापढीको प्रयोग 

पछिल्लो पटक गत सोमबार (मंसिर ११) मात्रै जिल्लाको महादेवा गाउँपालिका–४ का योगेन्द्र प्रसाद साहले लेखापढी व्यवसायी र कर्मचारीको रबैयाले पीडित बनेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए ।

उनले बुबा, आमाको नाममा दर्ता रहेको जग्गा नियमअनुसार सबै प्रक्रिया पुर्याएर आफ्नो नाममा जग्गा नामसारी गराउन खोज्दा मालपोतका कर्मचारी (खरिदार) महेश यादवले फायल हेरी अनाहकमा लोखापढी संघको नगदी रसिद काट्न लगाएको बताए ।

सो रकम के–का लागि हो भनेर सोध्दा फायल नै फ्याकेर हप्काएपछि आफुले बाध्य भएर ५ हजारको रसिद काट्नु परेको गुनासो गरे । साहले नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन मालपोत इकाई समिति, राजविराजका पदाधिकारी तथा कर्मचारीलाई कारबाही गरी सो रकम फिर्ता गराइ दिन प्रमुख जिल्ला अधिकारीसमक्ष माग समेत राखेका छन् ।

हुन त नेपाल सरकारले ०७८ मंसिर १५ गतेदेखि नै भू–सेवा (कम्प्युटर प्रणाली) मार्फत मालपोतका सबै कामकाज गराउने व्यवस्था मिलाएको छ भने सो अनुसार मालपोत सप्तरीमा समेत ०८० साउनदेखि भु–सेवाबाटै काम काज हुँदै आएको छ । तर, केही कर्मचारीहरुले घुसखोरीलाई सुरक्षित गर्नका लागि लेखापढी व्यवसायीलाई नै प्रयोग गर्दै आएकोले नियम विपरित कार्यालय परिसरभित्रै अड्डा जमाएका लेखापढीहरुले खुलेयाम असुली गर्दै आएको कर्मचारी श्रोतले नै बताउँछन् । ‘तल्लो कर्मचारीलाई मासिक २० देखि ५० हजार रुपैयाँसम्म उतैबाट आउँछ’ नाम नछाप्ने सर्तमा उनले भने, ‘माथिल्लो कर्मचारी र अन्य संरक्षकलाई पनि मासिक रुपमै पुग्छ ।’

रमाना लिन काप्र पण्डितको अनाकानी 

घुस विना कामै नहुने मालपोतका कार्यालय प्रमुखको सरुवा भएको महिना दिनभन्दा बढी भइसकेको छ । तर, शाखा अधिकृत (रा.प.तृतीय) कार्यालय प्रमुख पण्डितले रमाना लिन अनाकानी गर्दै आएका छन् ।

‘मधेशलाइभ’लाई प्राप्त पत्रअनुसार पण्डितको गत कार्तिक १५ गते नै जिल्ला प्रशासन कार्यालय, रौतहट पदस्थापन भइसकेको छ ।

‘मन्त्रालयको मिति ०८० कार्तिक १५ को निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १५(१) बमोजिम तपाईलाई देहाय अनुसार पदस्थापन गरिएको’, गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाले सोही मितिमा ४–३७१ चलानी नम्वर उल्लेख गरी पत्र पठाएको छ । तर, महिना दिनभन्दा बढी भइसक्दा पनि कार्यालय प्रमुख पण्डितले रमाना लिन मानेको छैन् ।

कार्यालय प्रमुख पण्डितले डिजीकै आग्रहमा मालपोत राजविराज आएको साढे तीन महिनामै पदस्थापन गरिएको भन्दै आक्रोश व्यक्त गरे । ‘रमाना लिन्नँ, जबसम्म कुनै अधिकृतस्तरका कर्मचारी यहाँ आउँदैन, तबसम्म म रमाना लिन्नँ । छाप्नु छ भन्ने छाप्नू ।’

उनले पनि लेखापढी व्यवसायीको कामै नरहेको स्वीकार गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस