दोष प्रहरीको मात्रै कि हाम्रो गुलामी मानसिकताको !

उमेश कुमार यादव
प्रहरी र तस्कर दुबैतर्फबाट सिमा क्षेत्रमा जनता असुरक्षित छन् । प्रहरीको सेटिङ्गमा तस्करी हुने गर्दछ । सादा ड्रेसका घुमुवाहरु मार्फत तथा स्थानीय युनिट सङ्ग वा मार्फत कतिपयले सेटिङ्ग मिलाएका हुन्छन् भने कतिपय ठुला तस्करले सिधै आफ्नो पहुँच अनुसार माथिल्लो तहसम्ममा सेटिङ्ग मिलाएका हुन्छन् । तिनीहरुको बिचमा सम्प्रेषण नहुँदा तथा सम्मानजनक भागबण्डा नमिल्दा समस्या उत्पन्न हुन्छन् ।

मधेशमा मोटो रकम लिएर नै गृह प्रशासनले सरुवा गर्छन्, अपवाद बाहेक । यहाँ कुन जिल्लाको कति ?, कुन प्रहरी पोस्टको कति (जनपद र सशस्त्र) ? रकम तय गरिएको हुन्छ रे ! त्यस अनुसार असुल्न सक्नेहरुको सरुवामै भाउ–बट्टा तय गरिएको हुन्छ ।

मधेशलाई हेर्ने, बुझ्ने दृष्टिकोण औपनिवेशिक रहेको हुँदा यहाँ प्रशासनले गर्ने व्यवहार त्यसै अनुसार हुँदा रहेछन् । त्यसैले काठमाडौमा पानीको फोहोराले काम चलाउने प्रहरीले मधेशमा गोली प्रयोग गर्छन् । तर दोष प्रहरीको मात्रै कि हाम्रो गुलामी मानसिकताको पनि छ ! भनेर सोचौं ।

काठमाडौसँगको गहिरो सम्बन्ध तथा पैसाको तागतको सम्बन्धले मधेशमा प्रशासनले व्यबहार गर्ने गर्दछन् । यहाँ राजनीतिकर्मीदेखि सञ्चारकर्मी होस् कि अन्य क्षेत्रमा, प्रशासनले आफ्नो वकालत गरिदिने पात्र खडा गरेको हुन्छ । कसले कसलाई थुनाइ दिने, मुद्दा लगाइ दिने, छोडाइ दिने त्यसको तागतमा राजनीतिक गर्ने वा समाजमा कलह फैलाउने दलालको कमी पनि छैन । त्यसैले सामाजिक मुद्दाहरु जो पहिले पहिले गाउँमा नै बसेर हल हुन्थ्यो, त्यो अब कम हुँदै गएर प्रहरी चौकीमा त्यसको मेला लाग्दछ । स्थानीय न्यायिक समितिको प्रभावकारिता देखिएको छैन । यसको दोषीको जिम्मा कसले लिने ?

यहाँ बोल्नेको खैरियत हुदैन । त्यसका विरुद्धमा मुद्दा खोज्ने काम हुन्छन् । प्रशासनले त्यसलाई इगनोर गरेर अपमानित गर्दा दलाल प्रवृत्तिका चाटुकारहरु आफ्नो भाउ बढेकोमा गर्व गर्दछन् । यो सामान्य देखिए पनि यसलाई हल्का ढङ्गले निरन्तरता दिने हो भने समस्या दिन प्रतिदिन जटिल बन्दै जाने कुरामा द्विविधा पाल्नु मुर्खता हुन्छ । हामी राजनीतिक ब्यक्ति, दल, सञ्चारकर्मी, नागरिक समाज, स्थानीय युवाहरु, व्यवसायीहरु सबै गम्भीर र संवेदनशील हुनैपर्छ ।

प्रहरीको गोलीबाट मात्रै होइन कि कुनै दिन भारतीय तस्कर र यहाँका तस्करको साँठगाँठबाट पनि समेत मारिने खतरा बढ्ने सम्भावनातर्फ बेलैमा सोच्नु जरुरी छ । सिमा क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति हुने र असुरक्षा पनि त्यतिकै बढने परिस्थितितर्फ गम्भीर हुन जरुरी छ ।

राज्यको निकायले जनताको सेवक हौं भनेर सोच्ने र तद्नुसार व्यबहार गर्ने हो भने धेरै कुराको समाधान त्यहीँबाट हुन शुरु हुन्छ । जनताको अपनत्व, स्नेह बढ्दै विश्वासको सङ्कट हल हुँदै जान्छ । तर, यहाँ राज्यको असमावेशी चरित्र, सिंहदरबारका शासकको नियतमै समस्या छ । यसले रोग झन बल्झाउँदै गइरहेको छ । अहिले झन दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले जनताको अधिकार खोस्न, लुटतन्त्र मच्चाउन, ठूला–ठूला भ्रष्टाचार काण्ड ढाकछोप गर्न, मधेशमा थप आतङ्क मच्चाउन तथा मधेशीमुलका जनता, नेताकार्यकर्ताको अपमान गर्न, मधेशभित्र थप जातीय विग्रह चर्काउनकै लागि बनेको छ । त्यसको उदाहरण मधेशी मुलका मन्त्रीको बहिर्गमन र त्यस्तै प्रकृतिका, त्योभन्दा पनि खराब प्रकृतिका मुद्दामा कांग्रेस, एमाले दुबै पार्टीको तर्फबाट मन्त्री रहेकाहरुको निरंतरताले मधेशी अनुहारप्रतिको दृष्टिकोणलाई स्पष्ट गर्दछ । यो सब दीर्घकालीन योजना अनुरुप भइरहेको छ ।

राजगढमा कुनै दोहोरो भिडन्त भएको होइन । मारिएका लालु यादवको साथबाट कुनै हतियार बरामद गरिएको छैन । नियन्त्रणमा लिएर मार्नु कुन कानुनले अधिकार दिन्छ ? उनीमाथि लगाइएको आरोप यदि सत्य हो भने यतिका दिनसम्म उसले कसको आडमा धन्दा चलाएको थियो ? यसको जवाफ प्रहरीले दिन सक्छ त ?

उसलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रियामा बढाउन सकिन्थ्यो । तर, मन मिले सत्कार नमिले बलात्कारको मुद्दा बढे जस्तै यो हत्याकाण्ड पनि त्यसै मानसिकताको उपज होइन र ? यो अत्यन्तै खतरनाक प्रवृत्ति र परिघटना हो । कुरा मिलेपछि त्यत्रो मलेठको गाँजा काण्डलाई ढाकछोप गर्न सक्ने प्रहरी प्रशासनले लालु यादवलाई गोली ठोक्नुको कारणको बारेमा सत्यतथ्य बाहिर आउनै पर्छ ।
(लेखक यादव, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व सिंचाइ मन्त्री हुन् ।)

Author:



क्याटोगरी छान्‍नुहोस