रोशन जनकपुरी
यो मान्छेलाई चिन,
संसार टाउकोमा बोक्ने,
भगुवा मात्र पहिरेको
यस पिलन्धरे मान्छेले
तिम्रो, र तिम्रो सत्ताको भारपनि बोकेको छ ।
तिम्रो लोकतन्त्रमा,
तिम्रो सभ्यतामा,
तिम्रो दैवीय आभा मण्डलमा,
र तिम्रो सत्ताको हेराफेरीमा,
यस भगुवाधारीको बहस छ कि छैन ?
उसको हिस्सेदारी छ कि छैन?
छैन भने,
जुनसुकै नाममा भएपनि,
तिम्रो नैतिक भनिने सत्ताको हेराफरी,
उसको निम्ति धोकाधडी मात्र हुनेछ।
होस गर !
यो पिलन्धरे मान्छेले,
जुन दिन टाउकोमा बोकेको संसार
बजारी दिनेछ, तिमी कहाँ हुन्छौ ?
होस गर !
यो पिलन्धरे मान्छे
आउँनेछ,
फेरी आउँनेछ,
पटकपटक आइरहनेछ,
आफ्नो अनुकुलको संसार न बनेसम्म
ऊ आइरहनेछ ।
उसले
जुन दिन टाउको उठाउँछ
र मुठ्ठी उचाल्छ,
तिमी, तिम्रो संसार, र तिम्रो तन्त्र मन्त्र
तुच्छ तृणसरी हुनेछ ।
होस गर !