काठमाण्डौ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री डा. महाबीर पुनले अहिलेको परिस्थितिमा केवल आन्दोलन र सिंहदरबार घेराउने गतिविधिले मात्र देश विकास नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार यस्तो टिप्पणी गर्दै आगामी फाल्गुन २१ गते हुने आम निर्वाचनलाई युवा नेतृत्व उदाउने मुख्य अवसरका रूपमा चित्रण गरेका हुन् । ‘अहिलको युवा पुस्ताले बुझ्नुपर्ने कुरा के हो भने आन्दोलन मात्रले देश बन्छ भन्ने होइन, देश बनाउने एक मात्र बाटो भनेकै आमचुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर पुराना नेताहरूलाई बिदा गर्नु हो’ पुनले लेखेका छन् ।
उनका अनुसार बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहले घेरिएका छन्, जसले देशका संयन्त्रहरू बर्बाद गरिरहेका छन् । यस्तो अवस्थाले देश अगाडि बढ्न नसक्ने भन्दै उनले निर्णायक परिवर्तनका लागि युवाको भूमिकालाई अत्यावश्यक बताए ।
अन्तिम विकल्पका रूपमा ‘पूर्ण क्रान्ति’को पनि संकेत गर्दै उनले शान्तिपूर्ण र लोकतान्त्रिक मार्गमार्फत परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन् । युवा पुस्तालाई सक्रिय राजनीतिक हस्तक्षेपको आह्वान समेत मन्त्री पुनले गरेका छन् ।