जसपा नेपालले पठायाे प्रजिअ मार्फत प्रम कार्कीलाई ज्ञापनपत्र

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले राजनीतिक एजेन्डालाई अघि बढाउन २८ बुँदे मागसहित प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापनपत्र पठाएको छ ।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टुवराज पोखरेलमार्फत बुधबार प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्रमा मधेश विद्रोहको भावना अनुरूप संविधान संशोधन, जेनजी विद्रोहका एजेन्डा कार्यान्वयन, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा प्रदेशको नामाङ्कन गर्नुपर्ने मागसहित २८ बुँदे समावेश गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले मागहरू तत्कालै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने प्रतिबद्धता जनाएका छन्। उक्त अवसरमा जसपा नेपालका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष जगदेव यादव, केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभा सदस्य किरण कुमारी साह, पूर्व उपसभामुख उपमा देव, केन्द्रीय सदस्य शैलेश कुमार चौधरी, उमेश कुमार यादव, पुनम कुमारी यादव लगायत केन्द्र, प्रदेश, जिल्ला तहका पदाधिकारी तथा भातृ संगठन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जसपा नेपालले सरकारमा दबाब बढाउन देशव्यापी चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको छ । कार्यक्रमअनुसार मंसिर १० गते सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, मंसिर ११–१५ सम्म प्रत्येक क्षेत्रीय सहर बजारमा विरोध कार्यक्रम तथा जनपरिचालन अभियान सञ्चालन हुनेछन्।

यसैगरी मंसिर १९–२१ सम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना, मंसिर २७ देखि पुस ४ सम्म जिल्ला–स्तरीय विरोध सभा तथा पुस १२, १४, १५ र १७ गते क्रमशः विराटनगर, जनकपुर, वीरगन्ज र नेपालगञ्ज/भैरहवामा प्रदेश–स्तरका जनप्रदर्शन आयोजना गरिने जसपाले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस