श्यामसुन्दर यादव ‘पथिक’

हिमांशीसँग भेंट नभएको लगभग चार–पाँच महिना भइसकेको थियो । उनी पनि मसँग भेट्न चाहन्थिन्, र म पनि । हुनत दैनिकजसो साँझको समयमा भिडियो कलमा कुराकानी हुन्थ्यो नै । परी जस्ती उनी जब मेरो मुखाकृति हेर्थिन् उनमा खुशीको सिमा नै रहदैनथ्यो । ‘बत्तीसै दाँत देखिने हाहाहा…भन्दै उनी खुशी व्यक्त गर्थिन् ।’ एक–अर्कासँग मुख बिगारेर बोल्ने, जिस्किने अनि छुट्टिने बेलामा फ्लाइङ्ग किस त हुन्थ्यो नै । ‘आइ लभ यु’ अनि मैले ‘लभ यु टु नानु’ भन्थे ।
मेरो बसाइ जनकपुर, अनि उनको काठमाण्डौ । भेट्न त मलाई मन हुन्थ्यो तर नजिक भए पो । अनि, कार्यव्यसतता पनि । त्यसैले ‘चाँडै आउँछु’ भनी पन्छिदै थिएँ । सदा झैं मैले उनलाई फोन लगाएँ । पहिला जस्तै हाम्रो कुरा शुरु भयो । ‘यो के हो ? हातको नङ्ग देखाउँदै थिइन् ।
‘के ?’ मैले ‘हात हो’ भने । ‘यो भनेको’ चिच्याउँदै भनिन् ।
‘ए अँ, नङ्ग हो’ मैले सही जवाफ दिएपछि ऊ जोडले हाँस्न थालिन् ।
‘खै, खै गाला हेरुम्, ऐया (घाउ) ठिक भयो ?’ ‘हो, ठिक छ त’ मैले जवाफ दिएँ । ती परीले भनेको कुरा मैले सम्झेँ ।
अघिल्लो पटक काठमाण्डौ गएको बेला हामी दुई जना खुबै रमाइलो गर्या थियौं । ‘अटकन मटकनदेखि घुघुवा मामा…गुदू गुदूसम्म’ सम्झेँ । जिस्किदै उसले आफ्ना लामा–लामा नङ्गले गालामा राम्ररी चिथोरेकी थिइन् । मलाई दुख्दा ऊ औधी खुसी हुन्थिन् । हिमांशीको निश्छलतापूर्ण बदमासी मेरा लागि आनन्ददायक थियो । बाबा–आमालाई हेरेपछि ऊ अत्यन्त शान्त हुन्थिन् । उहाँहरु ओझेल परेपछि फेरी ऊ पुरानै लयमा फर्किन्थिन् । बीचबीचमा करिब दुई वर्षका स्मार्ट केटो कियांश पनि ‘मामा’ भन्दै जीउमा कुदफान गर्न आइहाल्थे । जो हिमांशीलाई पटक्कै मन पर्दैनथ्यो । मैले ती सबै सम्झे ।
‘छिट्टै आउनु ल’ उनले मायालु स्वरमा भनिन् । ‘हवस् हुन्छ ।’ भन्दै पन्छिए । फेरी अर्को दिन फोन गरेँ । ‘हिमांशी, जनकपुर आबु न, रेल चढब, जानकी मन्दिर घुमब’ मैले भने ।
‘न जाएब, तिमी आउनु’ उनको कुरा सकिन नपाउँदै ‘तिम्रो नङ्ग ठूलो छ, मलाई डर लाग्छ’ भने ।
उनले सुकोमल हात देखाउँदै भनिन् ‘इह, हेर्नु त अब छैन, ममीले काटिदियो, आउनु ल ।’ ती प्यारी बच्चीको कुरा सुनेर मलाई च्वास्सै घोच्यो । म दुःखी यसकारण थिए कि अब उनले मेरो गालामा नङ्ग घोच्न पाउनेछैन । हाँसीहाँसी मेरो गालामा घोपिने हरेक औंलाको नङ्ग्रामा मामा–भान्जीको अपार माया थियो । दुखाई भन्दा पनि आनन्दित महशुस गर्थेँ म ।
यसैक्रममा मलाई एक कार्यक्रममा पनि सहभागी हुनु थियो भने हिमांशीसँग गरेको बाचा पनि पुरा गर्नु । म रामानन्द चोकबाट विहानको माइक्रो चढेर काठमाण्डौ प्रस्थान गरँे । मामा आउने कुरो थाहा पाएदेखि ऊ अत्यन्तै खुशी थिइन् । बीच–बीचमा फोन गरेर सोधनी गरिरहिन् । मसँग भेट्न उनी व्याकुल थिइन् र म पनि । ‘मम्मी…मम्मी, मामा कहाँ पुग्नुभयो ।’ बडो निश्छल उत्सुकता थियो उनमा ।
हाइस भक्तपुर पुग्नै लागेको थियो । ज्वाइसाब(रामबिनय)ले जानकारी लिँदै थियो । बहिनी अन्जुको मोबाइलबाट फोन आयो ‘हेल्लो मामा !, काँ पुग्नुभो ?, चाँडै आउनु न ?’ त्यही मेरो प्यारो मान्छे रै छ । ‘एकछिनमा पुग्छु भान्जी’ भनी जवाफ दिएँ ।
हाइस सातदोबाटोमा रोकियो । ओर्लेर हिमांशी बसेको बोधीग्राम टोलतर्फ हातमा झोला बोकेर जाँदै थिएँ । बहिनी अन्जु र भान्जी हिमांशी चोकमै आइसकेकी रहेछ । ‘ऊ त्यो बाटो भएर मामा आउँदै हुनुहुन्छ’ भनेपछि उनको नजर बाटोतर्फ केन्द्रित थियो । जसरी सबुरीले राम आउने बाटो कुरे जस्तै ।
मोड कटेर हिमांशी बसेको घरतर्फको बाटोमा खुट्टा मात्रै के राखेको थिएँ, उनका तेजिला आँखाले करिब सय मिटर टाढैबाट हेरेको रहेछ । खुशीले मख्ख उनी ‘मामा’ भन्दै मतिर दौडिइन् । म डराएँ, पिचको बाटो अनि राम्ररी दौडिन नजानेको बच्ची लडे भने सारा खुसीमा पानी फेरिने हो कि !
म पनि दौडिदै हिमांशीतर्फ गइरहेको थिएँ भने ऊ पनि । कुदेर मेरो अँगालोमा आइन् । हामी मामा–भान्जीलाई संसारै पाएजस्तो अनुभूति भइरहेको थियो । ‘हा…हा…हा…मु आँह’ हाँस्दै गालामा म्वाइ खाइरहिन् । एकछिन हामी दुबैजनाको हाँसो र खुशीले चौक आसपास गुञ्जायमान भयो । बहिनी अन्जुले दृष्य क्यामेरामा कैद गर्न भ्याइकी रहिछे ।
हिमांशीलाई बोकेर घर पुगेँ । आफैले आधी गिलास जति पानी ल्याएर मेरो हातमा थमाइन् । ‘मामा…मामा… मेरो लागि के ल्याइदियो ?’ उनको भाषिक भन्दा पनि भावनामा मुग्ध थिएँ ।
‘तिमीले भनेकै लुगा ल्याएको छु ।’ आउनेबेलामा मैले हिमांशीलाई सोधेको थिएँ, तिम्रो लागि जनकपुरधामबाट के ल्याइदिउँ ? उनले ममात्र सुन्नेगरी सुस्तरी भनेकी थिइन् ‘लेहङ्गा’ ल्याइदिनु ल । प्यारो मान्छेले भनेको कुरा कहाँ विर्सन सक्छु र ?
‘खै खै, हेरुम् ।’ झोलाबाट निकालेर दिएपछि ‘वाउ, कति राम्रो’ भन्दै तारिफ गरिन् । ‘मम्मी मम्मी, रामो छ ?, कचन (कन्चन), ओ कचन रामो छ ?’ उनको जिज्ञासामा अन्जु र कन्चनले पनि ‘आहा कति राम्रो’ भन्दै प्रशंसा गरिदिएपछि हिमांशी झन मख्ख परिन् ।
अब त मामा–भान्जी एकअर्काको साथ नछोड्ने । घरी मोबाइलमा लुडो खेल्ने, घरी घोडा बनिदिनुपर्ने, घरी घुघुवा झुल्ने, घरी उनले मलाई अट्टा पट्टा गरिदिने, घरी घुम्न जाने, घरी कार्टुन हेर्ने, घरी मलाई र्याम सुनाउने जस्ता गतिविधिले म आनन्दित थिएँ । निष्फिक्र पनि । उनको साथी जस्तै भइसकेको थिएँ म ।
साँझ कलर बुकमा रङ्ग भर्न व्यस्त हुन्थिन् उनी । बीचबीचमा उनले ‘ओ टिचर, यता हेर न, यो ठिक छ ?’ ‘अँ ठिक छ’ भन्थे । उनका लागि ‘तँ, तिमी, तपाइँ वा हजुर’मा कुनै अन्तर थिएन । उनका जे जस्ता अभिव्यक्ति उनको तोते बोलीमा मलाई सुनुसुनु लाग्थ्यो ।
अगल–बगल तथा उनका साथीसङ्गी नेपाली भाषी भएकोले सम्वादको भाषा पनि प्रायः नेपाली थियो । मैले मैथिलीमा सम्वाद गर्दा हिमांशीले सिमित शब्दहरु मैथिलीमै फर्काउँथिन् । तर केही बालगीतका मुखडाहरु भने खेलको माध्यमले सुनाउँथिन् ।
चारपाँच दिनमै फर्किने गरी काठमाण्डौ गएको थिएँ । दिन रमाइलैसँग वित्दै थियो । मेरो दाहिने हातमा मासुको डल्लो पलाएको थियो । ज्वाइँ अर्थात हिमांशीका बुवा पाटन हस्पिटलमै ईएनटी विभागमा कार्यरत हुनुहुन्छ । उहाँले जीउमा यस्ता मासुका डल्ला राखिरहनु ठिक हुँदैन भन्दै जिद्द गरेर जचाउन लानुभयो । जाँचहरु सकेर भोली नै अप्रेसन गर्नुपर्ने भनी उहाँले चिकित्सकहरुसँग समय लिनुभयो ।
अन्ततः दाहिने हातको कुहिनाभन्दा माथिको भागमा पलाएको मासुको डल्लाको अप्रेसन गरियो । केही घण्टा अस्पताल बसाइपछि म कोठा पुगेर सोफामा बसी मोबाइल हेरिरहेको थिएँ ।
हिमांशी स्कूलबाट आइन् । ‘मामा खोइ ?’ भन्दै उनी मकहाँ आइन्् । हातमा पट्टी बाँधेको देखेर उनी आश्चर्य र चिन्ता मिश्रित भावमा सोधिन् ‘यो के भयो ?, ऐय्या भयो ?’
‘अँ, ठिक भइहाल्छ नानु’ भन्दै सम्झाएँ । त्यसपछि त हिमांशी मेरो कुरुवा जस्तै भइन् । औषधी खानु भो ? भन्दै गिलासमा पानी लिएर आउँथिन् । आफै औषधी झिकेर खुवाउन थालिन् । ‘मामा मामा, ओ मामा, यता सुन न, म डाक्टर हुँ’ भन्दै मलम समेत लगाउन थालिन् । अनि ‘ठिक भयो ?’ भन्दै सोधिरहन्थिन् । मेरो उत्तर हुन्थ्यो ‘अँ, ठिक भएँ ।’ जब ऊ मलाई मौन देख्थिन् तब फेरीफेरी सोध्ने गर्थिन् ‘मामा ओ मामा ! बोल्नु न, ठिक भयो ?’ यो क्रम काठमाण्ठौ बसाइका क्रममा चलिरह्यो । त्यसै बिच प्यारो मान्छेको जन्म उत्सवमा सहभागी भएँ । निक्कै रमाइलो भयो ।
मेरो फर्किर्ने बेला भइसकेको थियो । ‘हिमांशी, भोली म आफ्नो गाउँ भथौल जान्छु ल’ मेरो कुरा सकिन नपाउँदै उनी रुन्चे अनुहार बनाउँदै ‘नाइँ, जानु हुँदैन भतोल’ भनिन् । ‘म फेरी आउँछु नानु’ भन्दै सम्झाउने प्रयास गरेँ तर ऊ रुन थालिन् । उनी अत्यन्तै जिद्दी थिइन् । ‘ल, ठिक छ जादिनँ’ भन्दै तत्काल झुठो ढाडस दिएँ । तर, मलाई भोली बिहान जसरी पनि घर फर्किनु थियो । ज्वाइँसाबले खुरहुरियासम्मको टिकट पनि बुक गरिदिनुभयो ।
अर्को दिन बिहानै उठेँ । झोला तयार गरेर निस्किन खोजें । बाहिर पठाउ बाइक पनि बुक भइसकेको थियो । हिमांशी सुतेकी थिइन् । मेरो प्यारो मान्छेसँग एक त मैले झूठो बोलेको छु । अर्कोतर्फ उसलाई नभेटिकन कसरी घरतर्फ प्रस्थान गरुँ ? मेरा मनले मानिरहेको थिएन । ‘हिमांशीसँग भेट्छु’ मैले अन्जुलाई भने । ऊ मस्त निद्रामा आफ्नो ड्याडीसँग सुतिरहेको थाहा पाएँ ।
विस्तारै उनीसँग भेट्न गएँ । सुन्दर सुकोमल चेहरामा छोटो कपाल छरपस्ट थियो । झन अति सुन्दरी, साँच्चिकै परी जस्तै थिइन् । म जादैछु भनी थाहा पाई भने फेरी बबालै मच्चिने अवस्था थियो । किनभने ऊ रोएपछि चुप गराउन ड्याडी, मम्मी र सानी आमा कन्चनले ठूलै कसरत गर्नुपर्छ भने कुरा मलाई थाहा थियो । तै पनि विस्तारै मैले निधारमा माया गर्दै निस्किन खोजेँ । तर मेरो मनले मानिरहेको थिएन । आँखा रसाएको थियो तर आफुलाई सम्हालिन प्रयत्न गरेँ । प्यारो मान्छेलाई ‘सरी हिमांशी…’ भन्दै निस्किएँ ।
हाइस आफ्नो गतिमा राजधानीका परिवेशलाई छोड्दै अगाडि बढिरहेको थियो । तर, मेरो मन भने हिमांशीमै अल्झिएको थियो । ऊ उठेपछि मलाई खोज्दै रुने हुन् कि । बाल मस्तिष्कले मलाई गाली गर्ने हुन् कि…। यावत सम्झिदै थिएँ ।
जिन्दगीमा सबै कुरा सोचे जस्तो कहाँ हुन्छ र ! मिल्नु र छुट्टिनु त जीवनको ध्रुव सत्य हो । सुख–दुःख दिनपछिको रात र रातपछिको दिन हुने नियमित चक्र जस्तै हो । हामी मानव खाली हात आएका छौं र एक दिन संसार छाडेर जाने पनि खाली हात नै हो । यस्तै संसारिक मोहमायामा अल्झेर हाम्रो जीवन पनि बित्ने नै हो ।
वसन्तऋतुमा काठमाण्डौका सडक छेउमा फुलेका मनमोहक निलो ज्याराकाण्डा जस्तै रहेछ मानव जीवन पनि । आखिरमा केही समयको अन्तरालपछि अन्ततः भुइँमै झर्ने नै हो । दश दिनको बसाइमा सानी बच्ची हिमांशीसँगका रमाइला पलका साथै औषधी खुवाएको, मलम लगाएको तथा मेरो पीडामा ऊ पनि दुःखी भइदिने जस्ता सम्झनाहरु बोकेर घरतर्फको यात्रामा थिएँ म ।
लगभग साढे आठ बजेतिर हिमांशी निद्राबाट ब्यूँझिएकी रहिछे । ‘काँ छ मेरो मामा, मामा ओ मामा’ भन्दै मलाई सुत्ने कोठामा खोजिन् । अर्को कोठामा गएर झोला खोजिन् । नत उनले मामालाई देखे नत मामाको ब्याग । चारैतर्फ खोजिन् ।
‘मामा मामा…’ भन्दै निक्कैबेरसम्म रोइरहेको बहिनी अन्जुबाट थाहा पाएँ । झन म भाबुक भएँ । केही छिनपछि अन्जुले भिडियो कल लगाएर हिमांशीलाई दिइन् । उनले मेरो अनुहार हेरेर ‘मामा…मलाई छोडेर जानु भो’ भन्दै भक्कानिएर रुन थालिन् । उनलाई चुप गर्न कुनै जवाफ थिएन मसँग । तै पनि ‘सरी, चाँडै आउँछु भान्जी’ भन्दै सम्झाउने प्रयास गरेँ । दुबै आँखामा आँसु देखेर मैले झन मन थाम्न सकिरहेको थिएन । रुँदै ती बच्चीले ‘बाइबाइ, मामा, फेरी आउनु ल’ भन्न नपाउँदै उनको फोन काटियो । मस्तिष्कमा नाना थरीका कुरा खेलाउँदै सकुशल आफ्नो गाउँ पुगें ।
अर्को दिन फेरी हिमांशीको फोन आयो । अलि खुशी थिइन् । ‘मामा मामा, ओ मामा, तपाइँको चमास कहाँ छ ?’
‘खै बुझिन’ भनेपछि यो के’ मैले बिर्सेको चश्मा देखाएपछि बल्ल थाहा पाएँ । ‘ल राम्रोसँग राखिदिनु ल’ भनेपछि ‘’हस्, चाँडै आउनु ल’, भनिन् । मैले पनि सहमति जनाउँदै राम्रोसँग पढ्नु र नियमित स्कूल जानु भने । मैले भनेका कुरामा उनी ‘हस’ भनी सहमति जनाइन् ।
नियमित जसो भिडियो कलमा उनीसँग कुरा हुन्छ । हिमांशीको शब्दमा चमास अर्थात चश्मा लिन आउनु न भनी प्रायः याद दिलाइरहन्छिन् । समय सधैं एकनासको कहाँ हुँदो रहेछ ? चाहेर पनि आफ्नो अनुकुल रहँदैन । तै पनि अहिलेलाई म यति मात्रै भन्छु ‘हिमांशी, तिमीसँग भेट्न चाँडै काठमाडौँ आउँदैछु ।’