चुनावी मैदानमा जनयुद्धका ब्रिगेड कमाण्डर अरुण

राजविराज । माओवादी जनयुद्धका सिनियर ब्रिगेड कमाण्डर अरुण कुमार साह ‘अनिल’ यतिबेला प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भएर भोट माग्नका लागि जनताको घरदैलोमा पुग्ने गरेका छन् ।

मुक्ति या मृत्युको कसम खाएर उनी विद्यार्थी जीवनकालमै जनयुद्धमा होमिएका थिए । ४२ वर्षीय साहको हिम्मत र राजनीतिक उर्जामा अझै कमी आएको छैन । उनको जीवनकथा कुनै औपचारिक राजनीतिक यात्रा मात्र होइन, जनयुद्धका साक्षी पात्र पनि हो ।

२०५६ सालमा एसएलसी उत्तीर्ण गर्दा उनी आयुर्वेद स्वास्थ्य सहायकमा अध्ययनरत थिए । सुरक्षित भविष्य रोज्न सक्ने अवस्था हुँदाहुँदै पनि सोही वर्ष उनले माओवादी जनयुद्धमा सहभागी हुने निर्णय गरे । आन्दोलनको सुरुवाती दिनमा उनी गाउँ–गाउँ डुल्दै भित्तामा राजनीतिक सन्देश लेख्ने गर्दथे । उनले लेखेका ती भित्ते अक्षरहरू त्यतिबेलाका सत्ता सञ्चालकका लागि बन्दुकको गोली भन्दा कम शक्तिशाली थिएन् ।
अनेरास्ववियु (क्रान्तिकारी) हुँदै जनमिलिसियामा प्रवेश गरेपछि सक्रियताका कारण उनलाई जिम्मेवारी समेत थपिदै गयो । जनमिलिसियाको जिल्ला नेतृत्व र अनेरास्ववियु (क्रान्तिकारी) को जिल्ला अध्यक्षको भूमिका सम्हाल्दै उनले आन्दोलनलाई जनजनसम्म पुर्याउँदै गए । त्यसपछि एरिया इञ्चार्जको जिम्मेवारी सम्हाल्दै नेकपा माओवादीकै जनमुक्ति सेना नेपालमा प्रवेश गरे । काम गर्दै जाँदा उनी मधेश क्षेत्रका सबैभन्दा सिनियर ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी प्राप्त गरे ।

२०६१ सालमा रामेछापको लाप्चानेमा इन्सास राइफलको गोली लागेर उनी गम्भीर घाइते भए । घाइते अवस्थामा पनि उनी आन्दोलनबाट अलग भएनन् । तर २०६२ साल असार ५ गते खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा भएको आक्रमणले उनको जीवन नै मोडियो । टाउको, अनुहार, च्युँडो, हात, पाखुरा, खुट्टा र तिघ्रासहित शरीरभरि छर्रा लागेर जीवन–मरणको अवस्थामा पुग । सघन उपचार पश्चात अरुण निको त भए तर शरीरबाट छर्रा भने पूर्ण रूपमा हटेनन् ।

लामो उपचार, निरन्तर औषधि र असह्य पीडाबीच उनी करिब सात वर्षपछि मात्र पुस्तक पढ्न सक्ने अवस्थामा पुगे । सुधारोन्मुख हुँदै गर्दा २०६३ साल माघ ५ गते लहानमा उनी पुनः गम्भीर घाइते हुन पुगे ।

यति हुँदा पनि साहको यात्रा रोकिएन । उनले वाइसीएल नेपालको नेतृत्व सम्हाले । सिरहा, सप्तरीदेखि सम्पूर्ण मिथिला क्षेत्रमा संगठन विस्तारमा सक्रिय रहे । तर २०६३ साल जेठ २३ गते पुरानो द्वन्द्वकालीन मुद्दाले उनलाई तीन वर्ष जेल पु¥यायो । जेल जीवनले उनको पारिवारिक संरचना तहसनहस भए पनि तर विचार र प्रतिबद्धता भत्काउन सकेन ।

शान्ति सम्झौतापछि साहले लामो समय शारीरिक रूपमा थलिएको अवस्थामा आफ्नो सङ्घर्षको कथा ‘जनयुद्धदेखि जेलसम्म’ लेख्न सफल भए । २०७५ साल माघ १५ गतेपछि उनी पुनः नेपाली कम्युनिष्ट पार्टीको खुला राजनीतिमा फर्किए । पछिल्ला दुई वर्षदेखि पार्टी केन्द्रीय समितिको जिम्मेवारीसहित पार्टीको कामकाजमा सक्रिय छन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । नेपालमा गणतन्त्र स्थापनाका लागि योगदान पुर्याएको भन्दै जनताको सेवा तथा नीति निर्माण तहमा महत्वपूर्ण भूमिका निभाउनका लागि आफुलाई मतदान गर्न नेता साहले आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस