रुपनी (सप्तरी), २४ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिवार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए । २०४६ सालको जनआन्दोलन पश्चात गठन भएका सरकारहरुमा कांग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने ‘ देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’
देशमा शिक्षा, स्वास्थ्य र उद्योगलाई व्यवस्थापन गर्नुको साटो निजिकरण र पार्टीकरण गरेकोले ती सबै सरकारी संरचनाहरु तहस–नहस भएको अध्यक्ष यादवले बताए । सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका उनले चुनावका बेला बाचा गरेर पनि जितेपछि पुरा नगर्ने नेतालाई चित्त नबुझेसम्म गरिरहन मतदाताहरुसँग आग्रह गरे ।
मत माग्न आएका बेला बाटो बनाइदिने, अस्पताल बनाइदिने, राम्रो विद्यालय तथा कलेज बनाइदिने, सिंचाइँको व्यवस्था गरिदिने आदि इत्यादि बाचा गरेका नेताहरुलाई प्रतिवद्धताहरु किन भएन ? भनी प्रश्न सोधिरहे मात्र नेता सुध्रिने उनले बताए । उनले भने ‘जनताले नेतासँग प्रश्न सोधिरह्नुपर्छ, अनि मात्र नेता जिम्मेवार बन्ने छन् ।’
जनता समाजवादी पार्टीकै कारण देशमा परिवर्तन आएको भन्दै आफु र भावी सन्ततीको भविष्यका लागि जसपाका उम्मेदवारहरु अत्यधिक मतले जिताउन अध्यक्ष यादवले जनतासँग आग्रह गरे । आफु सप्तरी २ बाट चुनाव जितेपछि आमूल परिवर्तन ल्याउनका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक भौतिक पूर्वाधार, इन्जिनियरिङ्ग कलेज भवन, नर्सिंग कलेज भवन, पक्की सडकहरु समेतका कामहरु भएको र कतिपय पुरा हुने क्रममा रहेको उनले चर्चा गरे ।
चुनावी छलफल तथा भेंटघाटका क्रममा जसपा नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवम् पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व उपसभामुख उपमा देव, केन्द्रीय सदस्य चन्देश्वर सदा, समानुपातिक उम्मेदवार स्वस्तिका चौधरी, संगिता मण्डल, चुल्हाइ मण्डल, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, उपाध्यक्ष हरेराम यादव, सचिव जयनारायण यादव, क्षेत्र नम्बर ३ निर्वाचन परिचालन समितिका सदस्य धनेश्वर यादव, दिलकुमारी चौधरी, रुपनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष बेचनी सरदार, सरस्वती इशर, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष महेश कुमार यादव लगायतका नेताहरुले मन्तब्य व्यक्त गरे ।
शनिबारै रुपनी गाउँपालिकाको वडा नम्बर १ नकटी रायपुर, २ लौवापार, वडा ३ कटैया, ४ लबका टोल लगायतका गाउँहरुमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष यादव लगायतका नेताहरु सहभागी भएका छन् ।
यसैगरी रुपनी गाउँपालिका स्थित रुपनी बजारमा पार्टीको सम्पर्क कार्यालय समेत शनिवारै उद्घाटन गरिएको छ ।
