काठमाडौँ, १ चैत — चालु आर्थिक वर्षको फागुनसम्म सरकारको विकास खर्च निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्म पुँजीगत खर्च १९ प्रतिशत मात्र भएको छ।
चालु आर्थिक वर्षका लागि संघीय सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। यसमध्ये फागुन महिनासम्म ९ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ, जुन वार्षिक विनियोजनको ४७.१८ प्रतिशत हो। चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरिएकोमा ५४.३७ प्रतिशत खर्च भएको छ।
पुँजीगत शीर्षकतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म १९.२४ प्रतिशत मात्र खर्च भएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरिएकोमा ५४.८९ प्रतिशत अर्थात् २ खर्ब ५ अर्ब ९५ करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
यसैगरी फागुनसम्म सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४९.८९ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा फागुनसम्म ७ खर्ब ६५ अर्ब १० करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा हालसम्म वार्षिक लक्ष्यको ५१.०४ प्रतिशत असुली भएको छ। गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा ४५.७८ प्रतिशत असुली भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
यस्तै चालु आर्थिक वर्षका लागि सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो। तर हालसम्म वार्षिक लक्ष्यको २४.७८ प्रतिशत अर्थात् १३ अर्ब २४ करोड ५० लाख रुपैयाँ मात्र अनुदान प्राप्त भएको छ।