कृषि उत्पादन घट्दा मधेशको आर्थिक वृद्धि १.३१ प्रतिशतमै सीमित

Saptari-Agriculture

मधेशलाइभ । मधेश प्रदेशको आर्थिक वृद्धि दर चालु आर्थिक वर्षमा १ दशमलव ३१ प्रतिशतमा सीमित रहने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी समष्टिगत आर्थिक सूचकमा यस्तो उल्लेख गरिएको हो ।

कार्यालयका अनुसार पर्याप्त वर्षा नहुँदा धान तथा माछा उत्पादनमा नकारात्मक असर परेको छ । कृषि क्षेत्र कमजोर बनेपछि प्रदेशको समग्र आर्थिक गतिविधिमा समेत प्रभाव परेको जनाइएको छ । तथ्याङ्क अधिकृत नरबहादुर कुँवरका अनुसार पछिल्ला तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर यस वर्ष देखिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशको आर्थिक वृद्धि दर ३ दशमलव १८ प्रतिशत रहेको थियो भने २०८१/८२ मा यो घटेर २ दशमलव ७२ प्रतिशत पुगेको थियो । लगातार दुई वर्षदेखि कृषि उत्पादनमा आएको गिरावटले प्रदेशको अर्थतन्त्र कमजोर बन्दै गएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको योगदान १३ दशमलव १ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । तथ्याङ्क सार्वजनिक कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले कृषि क्षेत्रको योगदान घट्नु नै आर्थिक सुस्तताको मुख्य कारण भएको बताए । उनले आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

Author:



क्याटोगरी छान्‍नुहोस