कारको सिट र डिक्कीमा लुकाएर ल्याइएको ६१८ थान सोनारी डाई बरामद

राजविराज । सप्तरी प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याइएको ६१८ थान सोनारी डाईसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका–७ स्थित उच्च अदालत जनकपुर, राजविराज इजलास अगाडिको सडकमा चेकजाँचका क्रममा भारतबाट सिरहातर्फ जाँदै गरेको बीआर ३९ एभी ०८७१ नम्बरको कार रोकेर जाँच गरेको थियो । जाँचका क्रममा कारको अगाडिको सिटमुनि र पछाडिको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भन्सार छली चोरी पैठारी गरी ल्याइएको ६१८ थान सोनारी डाई बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले कार चालक भारत बिहार राज्यको कटिहार जिल्ला, कटिहार थाना, दाँगिपुर पश्चिम टोला वडा नं. ३२ का ४९ वर्षीय नाहिद निनियाज अख्तर र कारमा सवार सोही स्थानका ५० वर्षीय मो. एकबाललाई पक्राउ गरेको हो । बरामद सोनारी डाई, कार र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस