राजविराज । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका लागि निर्माणाधीन कन्या छात्रावास २० वर्षदेखि अलपत्र रहेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले तत्काल हस्तान्तरण गर्न माग गरेको छ ।
स्ववियु सभापति रंजित कुमार यादवको नेतृत्वमा सोमबार सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई स्मरणपत्र बुझाएका हुन् । विद्यार्थीहरुले छात्रावास निर्माण सम्पन्न गरी १५ दिनभित्र क्याम्पस प्रशासनलाई हस्तान्तरण गर्न माग गरेका छन् ।
राज्यको करोडौँ लगानीमा निर्माणाधीन छात्रावास लामो समयदेखि अलपत्र हुँदा क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा गरिब छात्राहरू चर्को भाडा तिरेर निजी घरमा बस्न बाध्य भएको स्मरणपत्रमा उल्लेख छ । निर्माण व्यवसायीले हालसम्म छात्रावास हस्तान्तरण नगरेका कारण भवन प्रयोगविहीन अवस्थामा रहेको स्ववियुको आरोप छ । स्ववियुले छात्रावासमा बाँकी रहेका काम तथा समयमा निर्माण सम्पन्न नगर्दा भएको क्षतिबारे छानबिन गर्न समिति गठन गर्नसमेत माग गरेको छ ।
यसअघि पनि पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा माग सम्बोधन नभएको भन्दै स्ववियुले अबको १५ दिनभित्र प्रक्रिया पूरा गरी छात्रावास हस्तान्तरण नगरिए जनहितका लागि सशक्त कदम चाल्ने चेतावनी दिएको छ ।