काठमाडौं । अभिनेत्री केकी अधिकारीले नेपालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक एकतालाई जोगाउन सबैलाई आग्रह गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल विभिन्न जाति, धर्म, भाषा र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै सानैदेखि नेपाली समाजले एकअर्काका चाडपर्व आफ्नै जस्तै मनाउँदै आएको स्मरण गराएकी छन्।
उनले दशैं, तिहार, ईद, क्रिसमस, ल्होसार, छठ तथा उभौली–उधौलीजस्ता पर्वहरू कुनै एक समुदायमा सीमित नभई सबै नेपालीको साझा खुसी बनेको बताएकी छन्।
“हामी फरक छौं—जात, धर्म, भाषा र संस्कृतिमा। तर यही विविधताले नेपाललाई साँच्चै धनी बनाएको छ। यही हाम्रो सुन्दर पहिचान हो,” उनले लेखेकी छन्।
केकीले कुनै पनि मतभेदका कारण वर्षौंदेखि कायम रहेको सामाजिक सद्भाव, आपसी विश्वास र अपनत्व कमजोर हुन नदिन आग्रह गर्दै नेपालीहरूलाई जोड्ने आधार धेरै रहेको उल्लेख गरेकी छन्।
उनले अन्त्यमा, “नेपाल सधैं सबैको साझा घर रहोस्,” भन्दै राष्ट्रिय एकता, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेकी छन्।