राजविराज । सप्तरी प्रशासनले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाएको छ। यद्यपि, शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न दुवै नगरपालिकामा अर्को आदेश नभएसम्म निषेधाज्ञा भने यथावत् राखिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले कर्फ्यु हटाउँदै निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।
निषेधाज्ञा अवधिमा दुवै नगरपालिकाभित्र पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको आदेशको पालना गर्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनका अनुसार राजविराज नगरपालिकामा पूर्वमा खाँडो नदी, पश्चिममा हुलाकी राजमार्गको जमुनी–थलही क्षेत्र, उत्तरमा रुपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र तोकिएको छ।
यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वमा हुलाकी राजमार्गस्थित खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्मको क्षेत्र निषेधाज्ञा लागू हुने क्षेत्र निर्धारण गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमित रहन तथा प्रशासनका निर्णयमा सहयोग गर्न आग्रह गर्दै अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहने जनाएको छ।