राजविराज, १६ जेठ । सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट तीन महिलासहित थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले आज उपलब्ध गराएको तथ्यांकअनुसार सप्तरीमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको हो ।
राजविराज नगरपालिकाका तीन जना, सप्तकोशी नगरपालिकाका दुई जना तथा सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिकाका एक–एक जनाको संक्रमणबाट मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनका अनुसार राजविराज नगरपालिका–१ का ५२ वर्षीया पुरुष, वडा नम्वर २ का ५८ वर्षीया महिला र ७ का ६८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो ।
जेठ ३ गते संक्रमण पुष्टि भएको ५२ वर्षीय पुरुषको जेठ १४ गते गजेन्द्रनारायण सिंह अस्पतालमा तथा ६८ वर्षीया महिलाको नगरसिंह होममा र ५८ वर्षीया महिलाको विराट हस्पिटलमा हिजो मृत्यु भएको छ । ६८ वर्षीया महिलामा जेठ ३ गते र ५८ वर्षीया महिलामा पनि सोही दिन संक्रमण पुष्टि भएको थियो ।
यसैगरी सप्तकोशी–३ की ७५ वर्षीया महिलाको नोबेल अस्पतालमा उपचारको क्रममा हिजै मृत्यु भएको निमित्त प्रमुख यादवले बताए । उनमा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो । सप्तकोशी–९ की ७९ वर्षीय पुरुषको पनि नोबेल अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ ।
उनमा जेठ १० गते संक्रमण पुष्टि भएको थियो । यसैगरी सुरुङ्गा–२ का ५२ वर्षीय पुरुषको पनि हिजै मृत्यु भएको छ । जेठ ६ गते संक्रमण पुष्टि भएपछि उनलाई कोशी अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।
यसैगरी हुनमाननगर कंकालिनी–१ का २२ वर्षीय पुरुषको नोबेल अस्पतालमा उपचारको क्रममा हिजै मृत्यु भएको छ । जेठ ३ गते संक्रमण पुष्टि भएको उनलाई उपचारको लागि त्यहाँ भर्ना गरिएकोमा उपचारकै क्रममा उनको हिजो मृत्यु भएको निमित्त प्रमुख यादवले बताए । यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु मृत्यु हुनेको संख्या ७९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।