राजविराज, १६ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरियाघाटबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित आज (आइतवार) एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही वडाका ३६ वर्षीय विजय मुखिया छन् ।
भारतबाट स्र्रोत नखुलेको १ लाख २९ हजार ५ सय रुपैयाँ भारतीय रुपैया बोकेर नेपालतर्फ आइरहेको मुखियालाई दशगज्जा क्षेत्रबाट पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल बिओपी तिलाठीबाट सहायक प्रहरी निरिक्षक सुशिल केसीको नेतृत्वमा खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।
भारतबाट लुकीछिपी नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ५ सयको २५९ वटा बरामद भएको छ ।
सो रकम आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाएको छ भने मुखियामाथि आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरिएको जनाएको छ ।