राजविराज, २० जेठ । सप्तरीमा कोरोना भाइरसको संक्रमण दर घटेसँगै दुई सातादेखि बन्द गरिएको बैंक तथा वित्तिय संस्था आज खुलेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा हिजो (बुधबार) बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकबाट हाल सप्तरीमा संक्रमण दर घट्दो रहेको निष्कर्ष निकालेका थिए ।
सोही बैठकबाट जनजीवन सहज पार्न निषेधाज्ञा पनि केही खुकुल्लो गरिएको छ भने बैंक तथा वित्तिय संस्थाहरु सातामा तीन दिन (आइतबार, मंगलबार र विहिवार) खोल्न पाउने निर्णय गरिएको छ । यसैगरी खाद्यान्न पसल खोल्ने समय पनि एक घण्टा थप गरिएको छ । यसअघि दैनिक दुई घण्टासम्म मात्र खाद्यान्न पसलहरु खुल्दै आएकोमा अब भने एक घण्टा थप गरेर तीन घण्टा (दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म) स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी ती पसल खोल्न पाउने निर्णय गरिएको छ ।
यसैगरी कृषि सामाग्रीहरु आपूर्ति गर्ने सरकारी, सर्ध सरकारी र निजी संस्थाहरुले आलोपालो गरी खोल्न पाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।