राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्व वातावरण दिवसको अवसरमा शनिबार वृक्षारोपण गरेको छ । वडा नम्वर ३ सकरपुरास्थित १५ कठ्ठा जग्गामा निजी वन साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले वृक्षारोपण गरेको हो । लुथरन वल्र्ड रिलिफ र कोशी पीडित समाजको समन्वयमा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, वडा नम्वर ३ का अध्यक्ष मनोज कुमार चौधरी, कोशी पीडित समाजका कार्यक्रम संयोजक श्रवण चौधरी, कार्यक्रम अधिकृत सुकदेव चौधरीसहितका ब्यक्तिले वृक्षारोपण गरेको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाभरि वृक्षारोपण कार्यक्रमलाई अघि बढाउने प्रक्रिया सुरु भईसकेको जानकारी दिंदै गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले वृक्षारोपण कार्यलाई सहजतासाथ अगाडि बढाउन गाउँपालिकाले आफ्नै नर्सरी समेत ब्यवस्थापन गरेको बताए ।
बढ्दो वायु प्रदुषणलाई घटाउन र जलवायु परिवर्तन अनुकूलन गर्न वृक्षारोपण अति महत्वपूर्ण भएकोले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य गरिएको अधिकृत झाको कथन छ । सो अवसरमा महगनी जातको ३५ वटा विरुवा रोपिएको र घेरबार गरिएको १५ कठ्ठा जग्गामा वृक्षारोपण गरिने वृक्षारोपण कार्यक्रमका संयोजक देवनारायण झाले जानकारी दिए ।
यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना’ नाराका साथ यस बर्ष विश्व वातावरण दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दो रहेको अवस्थामा सामाजिक दुरीलाई ध्यानमा राखी स्वास्थ्यको मापदण्ड अपनाई वृक्षारोपण कार्य गरिएको थियो ।