सप्तरीमा हत्यापछि फरार आरोपी सात वर्षपछि पक्राउ

राजविराज, ३० जेठ । सप्तरीमा लुटपाट गरी एक दम्पतिको हत्या गरेर फरार रहेका प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–१ का ३४ वर्षीय बब्लु मण्डल रहेका छन् ।

मण्डलले २०७१ साल जेठ २१ गते राति तत्कालिन हनुमाननगर गाविस–५ का ५५ वर्षीय प्रेम सुख बेगवानी र उनकी पत्नी ५२ वर्षीया सरोज बेगवानीको पसलमा लुटपाट गरेर हत्या गरेका थिए । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मण्डललाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

उनका अनुसार बेगवानी दमपतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने नगद र सुनचाँदीका गरगहनाहरु लगायत ५० लाख रुपैयाँ बराबरको लुटपाट गरिएको थियो ।

घटनाको अनुसन्धानको क्रममा सो बेला प्रहरीले ८ जना प्रतिवादीहरुमध्ये ६ जनालाई पक्राउ गरेको थियो भने अन्य दुई जना फरार थिए । पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस