लहान । अविरल वर्षासँगै आएको बाढीका कारण सिरहाका विभिन्न ठाउँमा घरहरु डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका १२ बेतौनाका एक दर्जन भन्दा बढी घरहरु डुबानमा परेका हुन् । घर डुबानमा परेपछि स्थानीयवासी छिमेकीहरुको घरमा शरण लिएर बसिरहेको स्थानीय मिन्थुन मण्डलले जानकारी दिए ।
डुबानका कारण कोठी(माटोको भकारी) भत्केर सबै अन्नपात काम नलाग्ने भएको स्थानीय इन्द्रदेवी मण्डलले जानकारी दिइन् । उनले भनिन्, ‘घरमा भएका सबै अन्नपात भिजेपछि बिहान छिमेकीले खाना खुवाए, अब पकाउने ठाउँ पनि छैन, भएको अन्नपात पनि भिजेकोले छाक टार्न मुस्किल छ ।’
त्यस्तै, अबिरल बर्षाका कारण गोलबजार नगरपालिका ९ मा २ वटा घर र धनगढीमाई नगरपालिका ६ मा एउटा घर भत्किएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेँलले जानकारी दिए । उता, वर्षाको पानी बजार पसेपछि मिर्चैयाका दर्जनौ पसलहरु जलमग्न भएका छन् । पूर्व–पश्चिम राजमार्गदेखि उत्तरको पानीको उचित निकास नहुँदा बजार पसेर जलमग्न भएको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए । उनले व्यवसायीहरुको करोडौंको क्षति भएको बताए ।
यता,कमला नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सिरहाको पटेर्वास्थित कमला नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको प्रजिअ कणेँलले बताए ।