जनकपुरधाम, १३ असोज । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको शैलीले आफु र प्रदेश सरकारलाई बदनाम गर्न नियत देखिएको आरोप लगाएका छन् ।
आयोगको छापापछि बुधवारै पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । ‘आयोगका कर्मचारीहरुको प्रस्तुत हुने शैलीले नै गलत नियत भएको स्पष्ट देखिन्थ्यो’ उनले भने–‘एकै पटक छापा मार्ने र मिडियामा भाइरल गर्ने कुराले पनि आफु र प्रदेश सरकारलाई बदनाम गर्न अन्य तत्व नै सक्रिय रहेको बुझिन्थ्यो ।’
आफुले आयोगका कर्मचारीहरुको शैलीबारे प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको मुख्यमन्त्री राउतको कथन छ । ‘उहाँले पनि सो कुरा स्वीकार्नुभयो’ उनले भने–‘ ‘वेटी वचाउ, वेटी पढाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रक्रियामा अनियमीतता गरेको भनि सञ्चारमाध्यममा आएको सामाचार समेत आपत्तिजनक छ ।’
उनले सो समाचार कपोलकल्पीत र भ्रमित पार्ने खालका रहेको भन्दै अनियमितता सावित गराउन चुनौती समेत दिए ।
बुधवार दिउँसो आयोगको कार्यालय बर्दिबासस्थितको टोली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारीहरु सोधपुछ गरेका छन् भने कागजात लिएर फर्किएको बताइएको छ ।