लौनिया र सकपुराका युवाहरुलाई कृषि मन्त्री साहको सहयोग

राजविराज, २७ साउन । कोरोना भाइरसबाट जोगिनकालागि जनचेतना जगाउने कार्यमा सक्रिय सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका युवाहरुलाई प्रदेश सरकारका एक मन्त्रीले सघाएका छन् ।
वस्तीमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थामा वडा नम्वर २ र ३ का युवाहरुले घरघरमा गएर सचेतनामूलक अभियान थालेका हुन् । युवाहरुको सक्रियताबाट प्रभावित भएर प्रदेश नम्वर २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कोरोना भाइरसबाट जोगिनकालागि अति आवश्यक सामग्रीहरु सहयोग गरेका छन् । लौनियामा संक्रमित थपिदैगईरहेको अवस्थामा मन्त्री साहले बस्तीमै पुगेर युवाहरुलाई प्रोत्साहित गर्दै सर्जिकल मास्क २ हजार, एन नाइन्टी फाइव १ सय ५० ओटा, आधा लिटरको स्यानिटाइजर १० ओटा, साबुन २ सय र ग्लोभ्स २ सय ओटा उपलब्ध गराएका छन् ।

युवाहरुले घरघरमै गएर अनिवार्य रुपमा मास्क लगाउने, साबुन पानीले मिचीमिची हात धुने, सामाजिक दूरी कायम गर्ने, सरसफाईमा ध्यान दिने, स्यानिटाइजरको प्रयोग गर्ने लगायतको विषयमा जानकारी दिने गरेको स्थानीय युवा समाजसेवी श्रीराम मण्डलले जानकारी दिएका छन् । मन्त्री साहबाट उपलब्ध भएका सामग्रीहरु जनचेतना जगाउने क्रममा अति आवश्यक भएका व्यक्तिहरुलाई वितरण गरिने कार्य भईरहेको बताएकाा छन् ।

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहँदा पनि समुदाय अझैं सचेत नभएकोप्रति चिन्ता व्यक्त गर्दै अनिवार्य रुपमा सुरक्षा सतर्कता अपनाउन समुदायसँग आग्रह गरेका छन् । सुरक्षा सतर्कता अपनाउन लापर्वाही भए कोरोना भाइरसले झन उग्र रुप लिनसक्ने भन्दै आआफ्नै तवरबाट सावधानी अपनाउन उनले जनसमुदायसँग अपील गरेका छन् ।

यसैगरी मन्त्री साहले तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर ३ सकरपुराका युवाहरुलाई समेत कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले व्यक्तिगत रुपमा सर्जिकल मास्क एक हजार, एन नाइन्टी फाइव ५० ओटा, आधा लिटरको स्यानिटइजर ५ ओटा, साबुन सय ओटा, ग्लोभ्स सय ओटा उपलब्ध गराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस