काठमाडौं, ५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले सङ्घीयतालाई सबल र सफल बनाउन सरकार संविधानमा भएको व्यवस्थाअनुसार निर्वाचन गर्न लागिरहेको बताए । बैठकमा राष्ट्रिय सभाको चुनाव तथा स्थानीय तहको निर्वाचन तथा राष्ट्रिय निर्वाचनको तयारीमा छलफल भएको थियो ।
सो बैठकमा संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन गर्ने सहमति पनि भएको छ । निर्वाचनको मिति भने दलहरूका आन्तरिक बैठकमा थप छलफल तथा तयारीपछि तय गर्ने गरी अर्को बैठक बस्ने पनि निर्णय भएको छ । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले गरेको व्यवस्थाभित्रै निर्वाचन सम्पन्न गर्न दलहरूबीच सहमति भएको जानकारी दिए ।उनका अनुसार यस विषयमा दलहरूबीच थप गृहकार्य गरेर बैठक बस्ने भएको छ । उनले भने, “सङ्घीयतालाई बलियो पार्न संविधानले तोकेबमोजिमको समयमा निर्वाचन गराई स्थानीय सेवा प्रवाह गर्ने कुरामा हामी सचेत छौँ । त्यस कारण समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।”
मन्त्री कार्कीका अनुसार निर्वाचनका विषयमा सरकारले निर्वाचन आयोगसँग पनि निरन्तर परामर्श गरिरहेको छ, यस विषयमा सरकारले चाँडै निर्णय लिनेछ । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले पनि संवैधानिक व्यवस्थाअनुसार निर्वाचन सम्पन्न गर्ने विषयमा दलहरूबीच सहमति भएको बताए ।
निर्वाचन आयोगले भने आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरूले यसअघि प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तह निर्वाचन गर्ने तयारीका बारेमा आयोगको तयारीबारे अवगत गराइसकेका छन् । गोरखापत्र दैनिकबाट