युक्रेनमा कति नेपाली चिकित्सा शिक्षा अध्ययनरत छन्?

काठमाडौं । रुस र युक्रेन युद्धका कारण युक्रेनमा अलपत्र परेका नेपाली मेडिकल विद्यार्थीले उद्धार गर्न आग्रह गरेका छन्।

नेपाल मेडिकल काउन्सिलका रष्ट्रिार डा कृष्ण अधिकारीले युक्रेनमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरुले काउन्सिलमा सम्पर्क गरी उद्धार मागेको बताए।

युक्रेनमा चिकित्सा शिक्षा अध्ययनका लागि काउन्सिलबाट सन् २०१९ मा स्नातक तह अध्ययनका लागि २ जना, स्नातकोत्तर तह अध्ययनका लागि २ जना, सन् २०२० मा स्नातक तहका लागि १ जना विद्यार्थीले स्वीकृती लिएको तथ्यांक छ।

‘पोष्ट ग्राजुएट गरिरहेका तीनजना मेडिकल विद्यार्थी छन्, ती मध्ये २ जनाले हामीलाई सम्पर्क गरेका थिए,’ उनले भने, ‘युद्धबाट प्रभावित भएकाले उद्धारको पहल गर्न आग्रह गरेका छन्।’

युक्रेनमा युद्धबाट अध्ययन प्रभावित भएपछि नेपाली विद्यार्थीहरुले उद्धारपछि नेपालमै अध्ययन पुरा गर्ने वातावरण मिलाउन माग गरेको समेत डा अधिकारीले बताए।

‘युक्रेनमा रहेका मेडिकल विद्यार्थीको अवस्थाबारे हामी जानकारी छौं। उनीहरुले नेपालमै पढ्ने वातावरण सहित उद्धार गर्न माग गरेका छन्,’ डा अधिकारीले भने, ‘चाइनामा पढेका विद्यार्थी कै लफडा भइरहेको समयमा अध्ययन कै व्यवस्थाबारे त बोल्न सक्ने अवस्था रहेन, हामीले सुरक्षित भएर बस्नु भन्यौं।’

डा अधिकारीले युक्रेनमा रहेका अन्य मेडिकल विद्यार्थीहरु भए नेपाल मेडिकल काउन्सिल र नेपाली महावाणिज्य दुतावासमा सम्पर्क गर्न आग्रह गरेका छन्।

युक्रेनमा रहेका नेपाली विद्यार्थीहरुको उद्धारका लागि सरकारलाई आफूहरुले पनि आग्रह गर्ने डा अधिकारीले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस