जनकपुरधाम । भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि, नेपाल आयल निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।
निगमले विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जानकारी दिएको हो । निगमका अनुसार बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँ, डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेर आएको छ ।
भारतबाट वृद्धि भएर आएको मूल्यसँगै निगमलाई १५ दिनमा करिब ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर, उपभोक्ताका लागि बेच्ने मूल्यमा भने कुनै सूचना दिएको छैन ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२.८१, डिजेलमा ३६.४४ रुपैयाँ घाटा हुने देखिएको निगमले विज्ञप्तिमा भनेको छ । यद्यपि,मट्टितेल, हवाइ इन्धनमा भने निगमलाई घाटा छैन ।