३५३ जना निर्विरोध सबैभन्दा बढी गठबन्धनबाट निर्वाचित

काठमाडौं । स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म ३ सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले दिएको जानकारीअनुसार विभिन्न पदमा गरी निर्विरोध निर्वाचित भएका ३ सय ५३ जनालाई निर्वाचनको नतिजा निस्किएपछि निर्वाचित हुनेहरूसँगै प्रमाणपत्र प्रदान गरिनेछ ।

निर्विरोध हुनेहरूमा अधिकांश सत्ता गठबन्धनबाट उम्मेदवारी दिनेहरू रहेका छन् । सत्ता गठबन्धनतर्फ १ सय ९० जना निर्विरोध भएका छन् । नेपाली कांग्रेसले १ सय १ पदमा जितेको छ । नेकपा माओवादी केन्द्र ५४, नेकपा एकीकृत समाजवादी ३४ र जसपा १ पदमा निर्विरोध भएको आयोगले जनाएको छ । यस्तै नेकपा एमाले १ सय २३ पदमा निर्विरोध भएको छ ।

नेकपा एमालेले १ अध्यक्ष र २ उपाध्यक्ष निर्विरोध जितेको छ । त्यसै गरी एमालेले १४ वडाध्यक्ष, २६ वडा सदस्य, २३ महिला सदस्य र ५७ जना दलित महिला सदस्य पद निर्विरोध जितेको छ । कांग्रेसले १ उपाध्यक्ष निर्विरोध जितेको छ भने १४ वडाध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्य पद निर्विरोध जितेको छ ।नेकपा माओवादी केन्द्रका तीन वडाध्यक्ष निर्विरोध भएका छन् भने ५ वडा सदस्य, ७ महिला सदस्य र ३९ जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

नेकपा एकीकृत समाजवादीले २ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष, ६ वडाध्यक्ष, १२ सदस्य, ७ महिला सदस्य र ६ दलित महिला सदस्य पद निर्विरोध जितेको छ । राप्रपाबाट २ जना वडा सदस्य निर्विरोध भएका छन् ।स्वतन्त्रबाट ६ वडाध्यक्ष, १६ वडा सदस्य, ८ महिला सदस्य र ४ दलित महिला सदस्य निर्विरोध भएका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट १ महिला वडा सदस्य, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ दलित महिला सदस्य, जनता समाजवादी पार्टी १ दलित महिला सदस्य र नेपाल मजदुर किसान पार्टीबाट २ दलित महिला सदस्य निर्विरोध भएका छन् ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता र वैशाख १६ मा उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । यसपटक चुनावमा ३५ हजार २ सय २१ पदमा निर्वाचन हुनेछ भने निर्विरोध भएका पदमा चुनाव हुने छैन । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस