एम्बुलेन्स, दमकललाई पास नचाहिने

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनका दिन वैशाख ३० गते एक दिनका लागि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ भने सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी तथा निर्वाचन पर्यवेक्षकलाई निर्वाचन आयोगको अनुमति प्राप्त सवारीसाधन मात्र चलाउन पाउने व्यवस्था गरेको छ ।

तर, निर्वाचनको कार्यक्रममा प्रयोग नगर्ने गरी अस्पतालको सवारी साधन, एम्बुलेन्स, खानेपानी ट्यांकर, दूध बोक्ने गाडी, दमकल, दूरसञ्चार तथा केवल सेवाका सवारीसाधनलाई भने सवारी पास आवश्यक नपर्ने आयोगले जनाएको छ । निर्वाचनका दिन उम्मेदवार चढ्ने सवारीसाधन पनि निर्वाचन आयोगमा दर्ता हुनुपर्ने प्रावधान रहेको निर्वाचन आयोगले प्रस्ट पारेको छ ।

आयोगले सोमबार जारी गरेको सूचनामा शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमन लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारीसाधन, फोहोरमैला बोक्ने गाडी, तरकारी तथा फलफूल बोक्ने गाडी, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका गाडी र कूटनीतिक नियोगको नम्बर प्लेट भएको सवारी साधनले पनि सवारी पास लिनु नपर्ने जनाएको छ ।

आयोगले यदि कसैले निर्वाचन आयोगको निर्देशनविपरीत सवारीसाधन प्रयोग गरेको पाइएमा कब्जामा लिई निर्वाचन सम्पन्न भएपछि मात्र फिर्ता दिने जनाएको छ । यसका साथै अपांगता भएका व्यक्तिलाई घरदेखि निर्वाचन केन्द्र र विमानस्थल जानुपर्ने यात्रुका लागि घरदेखि विमानस्थल तथा विमानस्थलदेखि घरसम्म पुग्नका लागि पासपोर्ट र टिकटका आधारमा काठमाडौं जिल्लाको हकका प्रमुख जिल्ला अधिकारीले व्यवस्था गर्नुपर्ने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस