जसले मत खसाल्न जाँदै गरेका आमा र गर्भवती श्रीमतीसहित पाँच आफन्त गुमाए

पोखरा । जन्मदिने आमा र गर्भवती श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन दुःख भुलाउन गण्डकी मेडिकल कलेज पोखराको बेडमा उपचार गराइरहेका आफ्ना तीन वर्षीय छोरा अनिशको मुख हेरिहन्छन् । तर, अबोध बालकमा पनि उस्तै दुःखको पहिरो छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ थुमपोखराका अर्जुन तिनै व्यक्ति हुन्, जसले स्थानीय तह निर्वाचनमा मतदाता बोकेको जिप दुर्घटनामा परिवारका सदस्य, आफन्त गरी पाँच जना गुमाएका छन् ।

उनका २५ वर्षीया दुई जिउकी श्रीमती धनमाया कुँवर (जमुना) साथमा पेटको बच्चा, ५३ वर्षीया आमा तोपकुमारी कुँवर, कान्छी आमा (काकी) ५० वर्षीया टेककला कुँवर र मावली हजुरआमा ९० वर्षीया हरिकला कुँवर गुमाएका हुन् ।

‘सरकारका लागि भोट हाल्न भनेर जान लाग्दा यस्तो दुर्दशा देख्नुप¥यो,’ अर्जुनका गहभरि आँसु भरिए, ‘नसोचेको भयो । धन्न जेठो छोरा जिउँदो छ ।’ आमासँगै जिप चढेर वालिङ १४, सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रमा जान लागेका अर्जुनका तीन वर्षीय छोरा अनिशको शरीरभरि चोट लागेको छ । टाउकाको सिटी स्क्यान गरिएको छ ।

मतदान केन्द्रसम्म जिपमा महिला तथा वृद्धालाई चढाएपछि आफूहरू १०÷१२ युवापछि जाने भनेर अर्जुनसहितका युवा कुरेका थिए । तर, केही समयमै जिप दुर्घटनाको खबर आएको अर्जुनले बताए । उनका अनुसार जिप ओभरलोड भएकोले दुर्घटना भएको हो । खासगरी जिपमा सात जनाको क्षमता हो । तर, पछाडि सामान राख्ने ठाउँमा क्षमता बढी यात्रु चढाइएको थियो । जसमा करिब २० जना चढेका थिए ।

दुर्घटनामा घाइते भएका जिप चालक भुलबहादुर कुँवर पनि गण्डकी मेडिकल कलेजमै छन् । उनका अनुसार कच्ची सडकमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो । घाइते भुलबहादुरलाई पनि पोखराको गण्डकी मेडिकल कलेजमै भर्ना गरिएको छ ।

शुक्रबार बिहान स्याङ्जाको वालिङ १४, पञ्चमूल अर्खलबासमा भएको ग२च ३०२६ नम्बरको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १२ जना घाइते छन् । घाइतेमध्ये आठ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउने तथा घाइते सबै एउटै गाउँका हुन् । दुर्घटनाका कारण पञ्चमूल अर्खलबास गाउँ शोकमा डुबेको छ ।

दुर्घटनामा परी वालिङ १४, पञ्चमूल अर्खलबासकी ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीय ज्ञानदली कुँवर, ५० वर्षीया कुँवर र फूलदेवी कुँवरको पनि मृत्यु भएको छ । घाइते हुनेमा चालक भुलबहादुरसहित बेलमाया कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर, नेत्रबहादुर कुँवर छन् ।

दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जनाए । दुर्घटना बिहान १०ः२० बजे भएको हो । जिप सडकदेखि ३ सय मिटर तल खसेको थियो । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस