विजयोत्सव मनाउन स्कुलदेखि अस्पतालसम्म विदा

राजविराज, ९ जेठ । गत वैशाख ३० गते भएको स्थानिय तह निर्वाचनको धेरै पालिकाको नतिजा सार्वजनिक भइसकेको छ भने केहीमा अझैं मतगणना कार्य जारी रहेको छ ।

नतिजा सार्वजनिक भएर स्थानिय तहमा निर्वाचित भएकाहरु तामझामकासाथ विजयी जुलुस निकालिरहेका छन् । केहीले त मुटु नै थर्काउने गरी डिजे घन्काएर जनताका लागि जितेका जनप्रतिनिधिले जनतालाई नै दुःख दिने गरेको गुनासो पनि उति नै छ ।

यसैबीच, सप्तरीको एक स्थानिय तहमा जितेका जनप्रतिनिधिले विजयोत्सव मनाउने प्रयोजनले शिक्षणदेखि स्वास्थ्य संस्थासम्ममा पनि सार्वजनिक विदा दिने आदेश जारी गरेको छ ।

जिल्लाको रुपनी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले विजयोत्सव सोमबार शिक्षणदेखि स्वास्थ्य संस्थासम्ममा सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दकुमार चौधरीले सोमबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

‘विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशानुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयहरूमा आज मिति २०७९ जेठ ९ गते सोमबारका दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ अधिकृत चौधरीद्वारा जारी सूचनामा उल्लेख छ ।

गत आइतबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यस गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका दिनेशकुमार यादवले ४ हजार २६९ मत ल्याएर निर्वाचित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस