मिटरब्याजी प्रकरणः ९ जनाको जाहेरी, अनुसन्धान गर्न ५ दिन

राजविराज, २८ जेठ । व्यवहारिक खर्च प्रयोजनका लागि ऋण दिँदा पनि अर्को मिटर ब्याज असुल गरेको आरोप लागेपछि पक्राउ परेका नन्दकिशोर साह र उनका बुवामाथि ९ जनाले जाहेरी दिएको पाइएको छ ।

यद्यपी, उनका बुवा साहुकार सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुर घर भई हाल धरान उपमहानगरपालिका–१९ धनकुटे चौक निवासी ६७ वर्षीय रामदेव साहु तेली सहितका आरोपी भने अझैं पक्राउ पर्न सकेको छैन् । ‘आरोपी ४४ वर्षीय नन्दकिशोरलाई धरान–१९ स्थित निजकै घर नजिकबाट नियन्त्रणमा लिएर सम्मानित सप्तरी जिल्ला अदालतबाट ठगी तथा अपराधिक विश्वासघात मुद्दा शीर्षकमा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहको छ’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने–‘अर्का आरोपी साहुकार रामदेव साह तेलीसहित अन्यको पनि खोजी कार्य हुँदैछ ।’

साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध पनि जाहेरी दर्ता छन् । उनीहरु सबै अहिले फरार छन् ।

जाहेरीअनुसार ऋणी ९ जनाले नै १ करोड १७ लाख ४२ हजार २५६ रुपैयाँ ऋण लिएका थिए । सो रकमको ब्याज छ गुनाबढी चुक्ता गरिसक्दा पनि ऋणीको जग्गा भने फिर्ता नगरेको जाहेरीमा उल्लेख छ ।

पाँच दिन म्याद थप

जिल्लाको बोदे बरसाइन–५ का ६९ वर्षीय रामप्रसाद खत्बे, ७ का ५८ वर्षीय मो.तैयब अली र ९ का ४३ वर्षीय सीतल यादव, खडक–६ का ५१ वर्षीय छेदीलाल पासवान, ७ का ५३ वर्षीय देवनारायण साह र ८ का ६० वर्षीय बच्चालाल साह, शम्भुनाथ–११ की ४० वर्षीया ललितादेवी मण्डल, सुरुङ्गा–६ का ७२ वर्षीय गुलाबचन्द साह तेली र वडा नम्वर २ की ३३ वर्षीया सबुरदेवी चौधरीले साहुकार रामदेव लगायतकामाथि जाहेरी दिएका छन् ।

उनीहरुले संयुक्त रुपमै ६ महिनाअघि नै प्रहरीमा जाहेरी दिएका थिए । यद्यपी, अदालतले उनीहरु (साहुकार)विरुद्ध पक्राउ पूर्जी जारी नहुँदा पक्राउ गर्न नसकिएको प्रहरी नायव उपरीक्षक काफ्लेको भनाई थियो ।

मिडियामा समाचार सार्वजनिक भइसकेपछि गत विहिवार मात्रै सप्तरी प्रहरीले नन्दकिशोरलाई धरान–१९ स्थित निजकै घर नजिकबाट नियन्त्रणमा लिएको हो ।

शुक्रवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराएका नन्दकिशोर उपर अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस