मौलिक हकबारे सचेत र जवाफदेही बनाउनुपर्नेमा जोड

प्रियासिंह थारु
राजविराज, २८ जेठ । संविधानमा उल्लेखित मौलिक हकअनुसार नागरिकले पाउनुपर्ने अधिकारबारे स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

शनिवार सप्तरीको राजविराज नगरपालिकाको हलमा अनौपचारिक क्षेत्र सेवा केन्द्रको आयोजना तथा सामुदायिक सेवा केन्द्र, महिला मानवअधिकार रक्षक संजाल, नगर स्तरीय मानवअधिकार निगरानी समूह र बालअधिकार सचेतना समूहको समन्वय तथा सहकार्यमा भएको मानव अधिकार प्रवर्द्धन अभियान कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

वक्ताहरुले संविधानमा ३१ वटा मौलिक हक रहेको तथा जसमध्ये शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवास पाउनु नागरिकको अधिकार रहेको भन्दै ती सुनिश्चितता नागरिकको अधिकारसँगसँगै कर्तव्य पनि उतिकै आवश्यक रहेको बताए । पहिले आफू संवेदनसिल र जिम्मेवार हुनु र त्यसपछि जिम्मेवार निकायलाई जिम्मेवार बनाउनेतर्फ अग्रहसर हुनुपर्नेमा जोड दिँदै उनीहरुले नागरिक अधिकारका आन्दोलन पुस्तौंसम्म चल्ने भएकोले निरुत्साहित नहुन सुझाव व्यक्त गरे ।

अधिकार तत्कालै पाउने सम्भवना नभएपनि असम्भव पनि नरहेको भन्दै वर्तमानको संरचनामा स्थानीय तहमा सम्पुर्ण अधिकार रहेकोले जवाफदेही बनाउन निरन्तर संघर्ष गरिरहनुपर्ने बताउँदै उनीहरुले अधिकारका लडाइ लामो समयसम्म व्यक्तिगत र समुहगत भएपनि लागिरहन आग्रह गरे ।

नगर स्तरीय निगरानी समुहका अध्यक्ष रघुबर साहको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाको प्रमुख अतिथिमा आयोजित कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, एकल महिला मधेस प्रदेशकी अध्यक्ष अनिता देवकोटा, राजविराज नगरपालिकाकी नगर सदस्य ललिता कर्ण, अधिवक्ता मनु खनाल, बालअधिकार सचेतना समुहकी कोषाध्यक्ष खुश्बु रजक, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, संजय शर्मा, समग्र उत्थान केन्द्रकी सुष्मा गुप्ता, सामुदायिक बिकास केन्द्रका राजकुमार लाल दास लगायतकाले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन भने निगरानी समुहका दिनानाथ यादवले गरेका थिए भने कार्यक्रममा दिपक यादवले स्वागत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस