जनकपुरधाम – सरकारले मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयातमा लगाएको प्रतिबन्धको समयसिमा थप गरेको छ। विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
भदौ १५ गते पुनः राजपत्रमा अर्को सूचना निकाल्दै सरकारले १० मध्ये ६ वस्तुमा लगाएको प्रतिबन्ध खुला गर्दै चार वस्तुको प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याएको थियो । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले सो प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको छ ।
विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले आयात प्रतिबन्ध कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको थियो । सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक), एक सय ५० सिसी माथिका मोटरसाइकलमा अर्को सूचाना जारी नभएसम्म आयात गर्न पाइने छैन ।