प्रदेशसभा समानुपातिकतर्फ कांग्रेसका ३, माओवादी र नेकपा एसका ११-११ जनाको उम्मेदवारी खारेज

काठमाडौं । प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि पेस भएको बन्दसूचीबाट नेपाली कांग्रेसका ३ जनाको उम्मेदवारी खारेज भएको छ ।

७ वटै प्रदेशसभामा लागि पेस भएको बन्दसूचीबाट साधना बिसी (विश्वकर्मा) को उमेर नपुगेका कारण, मोहम्मद सईद खाँको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको र अंशुकुमारी सिंहको मतदाता नामावलीमा नाम नभएका कारण हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट बन्दसूची पेस भएका मध्येबाट ११ जनाको नाम हटेको छ । जसमा ८ जनाले जरिबाना नबुझाएको, दुईजनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको, एकजना दोहोरो उम्मेदवार परेको पाइएको छ ।

नेकपा (एकिकृत समाजवादी) बाट पनि ११ जना अयोग्य पाइएका छन् । जसमा ९ जनाले आयोगबाट लागेको जरिबाना नबुझाएका कारण र एकजनाको उमेर नपुगेका कारण निर्वाचन आयोगले खारेज गरेको हो ।

जनता समाजवादी पाटी (जसपा) नेपालका १३ जनाको नाम खारेज भएको छ । उनीहरूमध्ये जरिबाना नबुझाएका १० जना र तीनजनाको सम्बन्धित प्रदेशको मतदाता नभएको पाइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको १८ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा १२ जना जरिबाना नतिर्ने, तीनजनाको दोहोरो उम्मेदवारी, दुईजनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको कारण, एकजनाको उमेर नपुगेको आयोगले जनाएको छ ।

यस्तै उम्मेदवारी खारेजीमा पर्ने राप्रपाका १४ जना छन् । जसमा १० जनाले जरिबाना नबुझाएको, २ जना दोहोरो उम्मेदवार, एकजनाको उमेर नपुगेको र एकजना सम्बन्धित प्रदेशबाट नभएकाले अयोग्य ठहरिएका छन् ।

नेकपा (एमाले) को भने प्रतिनिधिसभाजस्तै बन्दसूची सबै कायम भएको छ । सात प्रदेशमा एमालेले २२० जनाको नाम पेस गरेको थियो ।

निर्वाचन आयोगले समानुपातिकतर्फका ५५० जनाको उम्मेदवारी खारेज गरेको छ । जसमा निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ २०३ जना र प्रदेशसभातर्फ ३४७ जना छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस