मधेश जनविद्रोहका कमाण्डर उपेन्द्र यादव (भिडिओ)

नेपालको राजनीतिमा उपेन्द्र यादव स्थापित नाम हो । शोषण, दमन एवम् उत्पीडन विरुद्धको मधेश जनविद्रोहको कमाण्डरको रुपमा उनी चिनिन्छ । उनको जन्म वि.सं. २०१६ सालमा सप्तरीको महदेवा गाउँपालिका स्थित भगवतपुर गाउँमा भएको हो ।

फुलनी देवी र धनीलाल यादवका कान्छा छोरा उपेन्द्र सानैदेखि जेहेन्दार विद्यार्थीको रुपमा चिनिन्थे । सामान्य जीवनशैली, भद्र एवम् उच्च बौद्धिकता भएका नेताको रुपमा परिचित उनको बाल्यकाल भगवतपुरमै बितेको हो । समाजमा व्याप्त विकृति, विसङ्गती एवम् विभेद उलाई पटक्कै मन पर्दैनथ्यो । माध्यमिक विद्यालय बभनगामा कट्टीबाट उनले २०३२ सालमा माध्यमिक तहको शिक्षा आर्जन गरे ।

सुनसरीको धरान स्थित हात्तीसार क्याम्पसबाट आइएससी, बिराटनगरको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा स्नातक तह र स्नातकोत्तर उत्तीर्ण गरे । कलेजमा अध्ययनरत रहँदा उनी नेकपा पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न थिए । वि.सं.२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट सदस्यता लिँँदै विद्यार्थी राजनीतिमा सक्रिय रहे । अखिल प्रतिबन्धित रहेकोले भूमिगत रहेर राजनीतिमा समेत आवद्ध थिए ।

२०३६ सालको जनमतसँग्रहका क्रममा भएको आन्दोलनमा उनी गोली लागेर घाइते समेत भए । अखिल विभाजित भएपछि प्रगतिशील विद्यार्थी युनियनको दुई कार्यकाल उपाध्यक्ष रहे । २०४६ सालमा उनी नेपाली कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा सामेल भए । आन्दोलनका क्रममा उपेन्द्र यादव काठमाडौंमा पक्राउ परे । उनले केन्द्रीय कारागारमा एक वर्षसम्म जेल जीवन बिताए ।

जेलमा रहँदा प्रदीप गिरी, दमननाथ ढुङ्गाना, मार्सलजुलुम शाक्य, गोपालप्रसाद भट्टर्राई लगायत काङ्ग्रेसी नेताहरूसँग राजनीतिक बहस हुँदा वहाँले शोषित उत्पीडित जनताको मुक्तिको सवालहरुबारे तर्क राख्ने गर्दथे । नेकपा पुष्पलाल समूहका अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (मार्क्सवादी) गठन हुँदा कोशी अञ्चल कमिटीमा रहेर काम गरे ।

केही वर्ष उनले जेसी बाल सदन र नेशनल एकेडेमी कलेजमा शिक्षकको रुपमा समेत काम गरे । वि.सं. २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा वहाँ विराटनगरमा फेरी पक्राउ परे । उनलाई बिराटनगरबाट धनकुट्टा कारागार लगियो । प्रजातन्त्र पुर्नस्थापना पश्चात उनी जेलमुक्त भए । नेकपा माले र मार्क्सवादी बीच एकता भई नेकपा एमाले बन्यो ।

२०४८ सालमा उनले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी)बाट सुनसरी–४ मा उम्मेदवार बने पनि पराजय व्यहोर्नुपर्यो । उनको जीवनमा थरीथरीका चुनौतीहरु आईरह्यो । यद्यपी राजनीति र मधेशको विषयमा अध्ययन अनुसन्धानमा उनी लागिरहे । उपेन्द्र यादवले मधेशी समुदाय एक विवेचना, नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र सहित सात ओटा पुस्तक लेखेका छन् ।

त्यतिबेलाका पार्टीहरु मधेश र मधेशी जनतालाई हक, अधिकार तथा मुक्ति दिलाउने सवालमा गम्भीर नदेखेपछि उनले २०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नामक गैरसरकारी संस्था गठन गरे । मधेशका विद्वतवर्गहरुको सक्रियतामा उनले मधेशका विविध समस्याहरुबारे मधेश सहित देशैभरी वैचारिक बहस जारी राखे ।

फोरमको वैचारिक अभियानमा बुद्धिजीवी एवम् अभियन्ताहरु जोडिदै गयो । संस्थाको आवरणमा माओवादी गतिविधि गरेको भन्दै त्यतिबेलाका सरकारले उनलाई पटक–पटक दुःख दिईरह्यो । माओवादीमा लागेको आरोपमा उनी दिल्लीमा पक्राउ परि केही दिन जेल परे ।

राजनीतिक यात्रामा वहाँकी अर्धाङ्गिनी पार्वती यादवको ठूलो योगदान छ । उपेन्द्र यादव राजनीतिमा लागेका कारण घरपरिवारको सम्पूर्ण जिम्मेवारी पार्वतीकै काँधमा आईपर्यो । यतिमात्र होइन, राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरुमा समेत पार्वतीले आन्दोलनकारीको भूमिका निभाएका हुन् । उनको एकमात्र छोरा अमरेन्द्र यादव जसपामै आवद्ध भई राजनीतिक आन्दोलनहरुमा सक्रिय छन् ।

वि.सं २०६३ सालमा जारी भएको अन्तरिम संविधानमा संघीयता सहित मधेशको अधिकार नलेखिएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाण्डौमा अन्तरिम संविधान जलाउँदै विद्रोहको घोषणा गरे । संविधान जलाएपछि यादव सहित २८ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परे । तत्पश्चात स्वस्फूर्त रूपमा मधेश आन्दोलित भयो । एक महिनासम्म चलेको उक्त आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले एक सातामा दुई पटक राष्ट्रका नाममा सम्बोधन गर्नुपर्यो । मधेशी जनताको आन्दोलनको रापतापले सरकार झुक्न बाध्य भयो ।

माघमा प्रधानमन्त्रीको दोस्रो सम्बोधन पश्चात केही समयका लागि स्थगित भएको मधेश आन्दोलन पुनः अगाडि बढ्यो । २०६४ भदौ १३ गते सरकार र मधेशी जनअधिकार फोरम बीच २२ बुँदे सहमति भयो । सरकारका तर्फबाट तात्कालिन शान्तिमन्त्री रामचन्द्र पौडेल र फोरमको तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरे । ऐतिहासिक जनआन्दोलन २०६२/६३ कै निरन्तरताका रूपमा भएको मधेशी जनताको आन्दोलनको भावनालाई हृदयंगम गर्दै’ भन्ने वाक्यांश सहमतिको पृष्ठभूमिमा नै लेख्न बाध्य पारियो ।

२०६४ फागुन १ देखि दोस्रो मधेश आन्दोलन शुरु भयो । समस्या समाधानका लागि आन्तरिक प्रयासहरू भए तर सफल भएनन् । फागुन १८ गते प्रधानमन्त्री निवास बालुवाटारबाट आठ बुँदे सहमतिपछि आन्दोलनलाई विराम दिईयो । सहमतिमा ‘मधेशी जनताको स्वायत्त मधेश प्रदेशको चाहना लगायत आकांक्षालाई स्वीकार गरी’ भन्ने वाक्यांश थप्न बाध्य पारियो । फोरमसँगको उक्त सहमतिले नै पहिलो संविधानसभाको चुनाव सुनिश्चित गर्यो ।

त्यही सम्झौताको फलस्वरुप त्यतिबेलाका सरकारले नागरिकता टोली मार्फत पहिलो चणमा २२ लाख र दोस्रो चरणमा गरी ३१ लाख जनतालाई नागरिकता वितरण गर्यो । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा तत्कालीन फोरमले प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ सिट जितेर संसद्को चौथो ठुलो शक्तिको रुपमा उदाउन फोरम सफल भयो । मोरङ्ग ५ र सुनसरी ५ बाट यादव एकसाथ चुनाव जिते । २०६५ सालमा उप–प्रधान एवम् परराष्ट्रमन्त्रीको जिम्मेवारीमा हुँदा उनले मधेश र मधेशीको मुद्दालाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन सफल भए । त्यसपछि २०७० को दोस्रो संविधानसभामा सुनसरी ५ बाट निर्वाचित भए ।

राजनीतिक यात्राका क्रममा मधेश र मधेशी जनमनबाट उँचाई प्राप्त गर्दै गरेको पार्टीलाई सहयात्रीहरुबाटै पार्टी फुटाउने, कमजोर पार्ने, पार्टीलाई धरापमा पार्ने जस्ता कार्यहरु भईरह्यो तर वहाँले अबिरल अविछिन्न रुपमा शोषित, पीडित जनताको हक अधिकार स्थापित गराउने कार्यमा अगाडि बढिरहे । सङ्घर्ष यात्रामा सहयात्रीहरु जोड्दै पार्टीलाई मजबुत बनाउन लागिरहे । जसको फलस्वरुप मधेशी जनअधिकार फोरम हँुदै वर्तमानमा जनता समाजवादी पार्टी नेपाल मधेश मात्र नभई हिमाल र पहाडको समेत समावेशी वैकल्पिक शक्तिको रुपमा उदाउन सफल भएको छ । निर्भिक, स्वाभिमानी र हठी स्वाभावका उनी जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न वहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित/सिमान्तकृत समुदाय/जातीहरुको शोषण, उत्पीडनबाट मुक्तिका लागि उनी पार्टीको अध्यक्ष भई निरन्तर अगाडि बढिरहेका छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट उनी अत्यधिक मतले निर्वाचित भए । २०७५ मा उनी उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भए । त्यसक्रममा उनले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरु गरे । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीमा रहँदा मन्त्रिपरिषदको बैठकमा उनले पेश गरेको संविधान संशोधन प्रस्ताव पारित नभएपछि राजीनामा दिए ।

उनले चुनावका बेला मतदाताहरुसँगै कुनै आश्वासन बाँडेन । तर कोभिड १९ लगायत विषम् परिस्थितिका बावजुद पनि सप्तरीको कायापलट हुने गरी उनले दर्जनौं कार्यहरु अगाडि बढाएका छन् । पचास बेडको गजेन्द्रनारायण सिंह अस्पताललाई ४ सय २० बेडको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउनु, राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ्ग कलेज, कृषि विश्व विद्यालय, इन्जिनियरिङ्ग कलेज निर्माण लगायतका कार्यहरु गरेका छन् ।

यस्तै सामुदायिक विद्यालयहरुमा पक्की भवन निर्माण, राजविराज चत्रपथ सडक सहित गाउँहरुसम्म पक्की बाटो पुर्याउन दर्जन बढी सडकहरुको काम अगाडि बढाएका छन् । भारतको नेशनल हाइवेसँग जोड्न न्यौर, छिन्नमस्ता–राजविराज–रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुु जोड्दै चाइनाको केरुङ्ग नाका जोड्ने गरी सडक सञ्जाल निर्माणका कामहरु उनकोे विशेष पहलमा अगाडि बढेको छ ।

उनी दोस्रो पटक सप्तरी निवार्चन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका छन् । हालसम्म कुनै पनि नेता वा पूर्वमन्त्रीहरुले नगरेको काम गरेर देखाएका कारण मतदाताहरु जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा उभिएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षण लगायतका अधिकारहरु सुनिश्चित गराउन उनी नेतृत्वको पार्टी सफल रहेको छ । छालाको रङ्गको आधारमा मधेशीलाई आफ्नै देशमा मर्सिया, भैया, बिहारी, धोती जस्ता शब्दले अपमानजनक व्यवहार गरिन्थ्यो । आज मधेश र मधेशीको पहिचान नीतिगत रुपमा संस्थागत भएको छ । सङ्घीय शासन व्यवस्थाको अभ्यासका क्रममा आज मधेशको नामबाट प्रदेश नै बनेको छ । यहाँका जनताले गर्वका साथ मधेश प्रदेशका वासिन्दा भन्न पाएका छन् ।

जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न वहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित/सिमान्तकृत समुदाय/जातीहरुको शोषण, उत्पीडनबाट मुक्तिका लागि जनता समाजवादी पार्टी नेपालको अध्यक्षको रुपमा निरन्तर सङ्घर्षरत छन् । उक्त पार्टीको सारथी भएर कठोर सङ्घर्ष गर्न उनी अझै प्रतिवद्ध छन् । जीवनको अन्तिम साँससम्म विभेदको अन्त्य तथा न्याय, समानता र स्वाभिमानका लागि सङ्घर्ष गरिरहने मधेशका मसिहा, परिवर्तनका युग पुरुष उपेन्द्र यादवको सङ्कल्प छ ।

Author:



क्याटोगरी छान्‍नुहोस