मधेस प्रदेशको मुख्यन्त्रीमा हाम्रो दाबी स्वभाविक : सीके राउत

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि बिहीबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताए ।

“जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको छ । जनतामुखी सेवाहरु प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी पनि छ,” उनले भने, “हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो । शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा रहनेछन् ।”

उनले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने कुरामा लाग्ने बताए । कुनै पनि व्यक्ति स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने कुरामा पार्टी प्रतिवद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने कुरामा आफू लाग्ने बताए ।

अध्यक्ष राउतले आफ्नो दलको सीमित संख्याको भरमा सडक, संसद् र सरकारमा गएर जनताका माग र मुद्दाहरु सम्बोधन गर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस