राजविराज भन्सारमा ‘सुविधा पास’मा लुटः बैंकका कर्मचारीले पनि गर्छन् असुली

राजविराज, ६ माघ । सप्तरीस्थित राजविराज भन्सार कार्यालयका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लूट मच्चाएको खुलेको छ । सेवाग्राहीबाट आएको गुनासोअनुसार बिहिबार नेपाल समाचारपत्रले गरेको ‘स्टिङ्ग अप्रेशन’ बाट भन्सारका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लूट मच्चाएको विषय खुल्न आएको हो ।

भन्सार कार्यालयले निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको राजविराज र हनुमाननगर बजारसम्म आवतजावत गर्न ‘सुविधा पास’ उपलब्ध गराउँदै आएको छ । यो ‘सुविधा पास’ पाउन भारतीय सवारी धनिले कुनै पनि शुल्क बुझाउनु पर्दैन । तर, भन्सार कार्यालयका कार्यालय सहयोगी (कास) कैलु यादव र प्रभु बैंकमा कार्यरत सानुकुमार चौधरीले प्रति सवारी (मोटरसाइकल) २० रुपैयाँ भारु र चारपाङ्गे सवारीमा ५० रुपैयाँ भारुसम्म असल्ने गरेको पाइएको हो ।

बिहिबार दिउँसो रकम लिएर ‘सुविधा पास’ जारी गरिरहेको अवस्थामा फेला परेका चौधरीले आफु कास यादवको अनुरोधमा सुविधा पास जारी गरिरहेको बताए । ‘आफु भन्सारसँग सम्बन्धित कर्मचारी होइन, म बैंकमा काम गर्छु’ उनले भने, ‘अहिले कास यादवले अनुरोध गरेपछि पास जारी गरिरहेको छु तर यसवापत आएको पैसा मेरो होइन, उहाँले नै लिनुहुन्छ ।’

केही बेरको लागि मात्रै पास जारी गर्ने कक्षमा बसेको दावी गरेका चौधरीले दैनिक ४–५ सयसम्म रुपैयाँ मात्रै आउने गरेको पनि बताउन भ्याए । ‘दिनभरिमा यहाँ ४–५ सय मात्रै हुन्छ सर, मैले त उहाँ (कास यादव)ले भनेअनुसार नै गरे’ उनले भने, ‘मेरो कुनै दोष छैन् ।’ चौधरी प्रभु बैंकले भन्सार कार्यालयमै सञ्चालन गरेको काउन्टरमा जुनियर असिष्टेन्ट पदमा कार्यरत छन् ।

केही बेरमै पास जारी हुने कक्षसम्म आइपुगेका कास यादवले पास जारी गर्दा निःशुल्क नै दिने गरेको दावी गरे । तर, टेबुलमै पैसा देखेसँगै यादवले सवारी धनिले आफ्नै खुशीले दिने गरेको बताए । ‘पारीबाट आएकाहरुले आफैं खुशी भएर दिनुहुन्छ’ उनले भने, ‘हामीले जबरजस्ती गरेको छैन् ।’

यद्यपी, यादवले त्यहाँबाट दैनिक कति सुविधा पास जारी हुँदै आएको र आउने रकम कसले लिने गरेको विषय खुलाउन चाहेन ।

श्रोतकाअनुसार राजविराज भन्सार भएर दैनिक ६० वटाभन्दा बढी मोटरसाइकल र १० वटा जति चारपाङ्गे सवारी धनिले ‘सुविधा पास’ लिएर नजिकको बजारसम्म आवतजावत गर्ने गर्छन् । ‘सोही अनुपातमा हिसाब गर्दाखेरी मासिक झण्डै १ लाख रुपैयाँ उठाउँछन् र सो रकम हाकिमसम्म पुग्छ’, श्रोतले भन्यो, ‘निःशुल्क पास दिनुपर्नेमा खुलेयाम रकम उठाइरहेको विषय हाकिमसम्म थाहा छ तर कहिँकत्तै सुन्नुभयो कारबाही भयो भनेर?’

उता, भन्सार कार्यालयका निमित्त प्रमुख अजय प्रकाश भगतले रकम लिएको पुष्टि भएको खण्डमा पहिलो पटकलाई सचेत गराइने बताए । ‘रकम उठाइरहेको विषयमा आफुलाई जानकारी छैन् तर पुष्टि भयो भने पहिलो पटकलाई सचेत गराउँछु र पनि अटेर गरेको पाइए कारबाही हुन्छ’ उनले भने, ‘रकम लिएकै हो भने त्यसमा कुनै पनि हिसाबले मेरो संलग्नता छैन् ।’

यता, प्रभु बैंक राजविराज शाखाका प्रबन्धक अशोक निरौलाले आफ्ना बैंकका कर्मचारीमाथि छानबिन गरी माथि रिर्पोटिङ्ग गर्ने बताए । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस