उपेन्द्रलाई कुम्हार जातिले भन्यो, ‘हामीमाथि अन्याय भयो, अल्पसंख्यकमा सूचीमा राख्न पहल गरिदिनुस्’

बारा (करैयामाई), ३ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवसँग कुम्हार समाजले अल्पसंख्यक जातिमा सूचिकृत गराउन विशेष पहल गरिदिन आग्रह गरेको छ ।

चुनाव प्रचार अभियानको क्रममा आइतबार करैयामाई पालिकाको नरही बजार पुगेका अध्यक्ष यादवसँगको छलफलमा कुम्हार समाजले गलत जातिको सूचिमा राखेकोले आफूहरुमाथि सरकारले अन्याय गरेको गुनासो गरेको छ ।

‘हामी अल्पसंख्यक जातिभित्र पर्दछौं तर सरकारले अन्य जातिको सूचिमा राखिदिएको छ, यसले गर्दा हामी राजनीतिक, प्रशासनिक र आरक्षणको अधिकारबाट बंचित भएका छौं’, कुम्हार समाजका अध्यक्ष रामानन्द पण्डितले भने । अन्य जातिबाट हटाएर अल्पसंख्यक सूचिमा राख्न आफूहरुले धेरै संघर्ष गरेको र थुप्रै पार्टी नेतासँग पहलका लागि आग्रह गरेको तर कसैबाट सहयोग नपाएको समाजका अध्यक्ष पण्डितको गुनासो छ ।

जसपा अध्यक्ष यादवले कुम्हार समाजको माग र समस्या सम्बोधनका लागि पूर्णरुपमा आश्वस्त हुन समाजलाई आश्वासन दिएका छन् । समाजको समस्याहरुलाई प्राथमिकतामा राखेर चुनाव लगत्तै समाधानको लागि पहल गर्ने अध्यक्ष यादवले बचन दिए ।

‘केही अल्पसंख्यक जातजातिलाई अन्य सूचिमा राखेर राज्यले विभेद गरेको छ, यसलाई तत्काल सच्याउनु पर्छ, समाजको माग सम्बोधनका लागि मेरो पूर्णरुपमा साथ र सहयोग रहन्छ’– जसपा अध्यक्ष यादवले भने ।

अल्पसंख्यक जातजाति जो सामाजिक, राजनीतिक, प्रशासनिक, आर्थिक र शैक्षिक रूपमा पछाडि पारिएका छन्, उनीहरुको आर्थिक स्तर उकास्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने अध्यक्ष यादवले बताए ।

कुम्हार जातजाति सभ्यता र सीपका सर्जक रहेकोले हाल हरेक क्षेत्रमा यान्त्रिकिकरणले गर्दा यो समुदायको पेशा नै संकटमा पर्न थालेकोले यनिको संरक्षणमा राज्यले पहल गर्नु पर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस