राजविराज – मिटरब्याजको आरोपी जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मा ‘सुरेन्द्र मधेशी’ले ऋण दिएको २५ लाख रुपैयाँको ब्याजसहित ७ करोड रुपैयाँ लिने स्वीकार गरेका छन् ।
जिल्लाको विष्णुपुर गाउँपालिका–७ बस्ने (हाल राजविराज नगरपालिका वडा नं.७) निवासी उनी एक पञ्चायतमा बोलेको ‘२५ लाखको ७ करोड रुपैयाँ लिन्छु’ भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडिओमा एक व्यक्तिले भनेका छन्, ‘ऋण दिएपछि विगत १३ वर्षदेखि ८ विघा जग्गा त तपाईले नै खादैआउनुभएको नि, अब कति लिनुहुन्छ? भन्ने प्रश्नमा शर्माले ‘७ करोड रुपैयाँ लिन्छु’ बताएका छन् ।
फेरी ती व्यक्तिले २५ लाखको ७ करोड कसरी लिनुहुन्छ भनेर प्रश्न गर्दा शर्माले अर्को व्यक्तिलाई देखाउँदै एक वर्षमै १२ लाख लिएको बताएका हुन् । ‘अदालतमा हेरिहाल्छु नि, अदालतमा के हुन्छ? शर्माले भिडिओमा भनेका छन् ।
श्रोतकाअनुसार खडक नगरपालिकास्थित कल्याणपुरमा सो पञ्चायतको आयोजना गरिएको थियो । यसअघि शर्मालाई गत चैत्र १६ गते आपराधिक विश्वासघात र ठगी मुद्दामा सप्तरी प्रहरीले पक्राउ गरेको थियो ।
अदालतबाट उनी ५ लाख रुपैयाँ धरौती तिरेर निस्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
उता, शर्माले त्यो भिडिओ आफुले जमिनको दाम उल्लेख गरेको बताए । ‘मैले त्यो भिडिओ कत्तै २५ लाख भनेको छैन्, मैले जमिनको दाम ७ करोड भनेको छु’ उनले भने, ‘जमिन चाहियो भने जमिन जानु ।’
यस्तो छ आरोप
प्रहरीका अनुसार जाहेरीका आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि शर्मालाई नियन्त्रणमा लिइएको थियो । जिल्लाको बोदे वरसाईन नगरपालिका–१० का निर्मलकुमार यादवले जाहेरी दिएका थिए । जाहेरीकर्ता निर्मलका बुबा शंकर यादवले सुरेन्द्रका बुबा सत्यनारायण शर्मासँग २०६६ सालमा घर खर्चका लागि भन्दै २५ लाख रुपैयाँ ऋण लिएका थिए ।
ऋण लिँदा शंकर यादवले सत्यनारायण शर्मालाई आफ्नो स्वामित्वको शम्भुनाथ नगरपालिका–७ स्थित ८ बिघा ७ कट्ठा ७ धुर जग्गा लिखत पास गरिदिएका थिए । सत्यनारायणले आफ्नो नाममा लिखत पास भइ आएको जग्गा छोरा सुरेन्द्रप्रसाद शर्माको नाममा पास गरिदिएका थिए ।
ऋणीले पूरै ऋण चुक्ता गर्दा पनि सुरेन्द्रले जग्गा फिर्ता गर्न नमानेपछि निर्मलले जाहेरी दिएका थिए ।