कोरोना सङ्क्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु

२०७७ असोज ५ गते ।
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ३ कि एक महिलाको आइतवार साँझ कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

गत असोज २ गते राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी ६२ वर्षिया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि साइकृष्णा अस्पतालको आइसोलेसनमा रेफर गरिएको थियो । एम्बुलेन्सबाट आइसोलेसन कक्षतर्फ लगिने क्रममा अचानक बेहोस भएर तत्कालै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार मृतक महिलामा स्वासप्रस्वास र निमोनियाको समस्या रहेको थियो ।

‘अस्पतालका आकस्मिक कक्षमा भर्ना भएदेखि नै महिलाको उपचारमा हामी चिकित्सक एवम् स्वास्थ्यकर्मी खटेका थियौं, उपचार चलिरहेको थियो’ उनले भने ‘एम्बुलेन्सबाट आइसोलेसन कक्षतर्फ लग्ने क्रममा अचानक मृत्यु भयो । सप्तरी जिल्लामा योसहित कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

हालसम्म जिल्लामा एक हजार २ सय २ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भईसकेको छ भने सङ्क्रमितहरुमध्ये ८ सय २ जना कोरोना जितेर घर फर्केका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस