मिटरब्याजी पीडितद्वारा विजयी जुलुस

राजविराज – मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले राजविराज सहित मधेश प्रदेशका जिल्लाहरुमा विजयी जुलुस निकालेका छन् ।

मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा सप्तरी, धनुषा, महोत्तरी, सिरहा,बरा,पर्साका पीडितहरूले र्‍याली निकालेका हुन् । सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग पनि गरेका छन् ।

‘जुन कानुनको लागि एक वर्षदेखि आन्दोलनमा थिए त्यो पारित संगै निकै खुशी भएको छु’ संघर्ष समिति सप्तरीका संयोजक तयाब अलिले भने, ‘मिटरब्याज सम्बन्धी विधेयक पास हुनु मिटरब्याज पीडितको ठूलो सफलता हो, सरकारले बनाएको कानुन तत्काल लागु गरेर कार्यान्वयन गर्न आग्रह गर्दछु ।’

संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासवानले सदनबाट मिटरब्याजविरुद्ध सम्बन्धी विधेयक पास हुनु मिटरब्याज पीडितको ठूलो सफलता भएको बताए । मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास सराहनीय रहेको उनको भनाइ छ । अझै पनि धेरै मिटरब्याज पीडित न्यायको पर्खाइमा रहेका र मिटरब्याजीहरुले अन्याय गरिरहेकाले उनीहरुलाई कारबाही दायरामा ल्याउन माग गरे ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक–२०८० संशोधनसहित पास गरेको हो । जसमा मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने व्यवस्था गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस